ओली– नेपाल समूह वार्ता,दुबै पक्ष आआफ्नै अडानमा,दुवै पक्ष आन्तरिक परामर्शमा

काठमाडौं,चैत २। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा र माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालयमा आज बसेको बैठक सकिएको छ।बैठकबाट बाहिरिएका नेपाल पक्षका नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको बताए।

 

उनले गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी बैठकमा गराइएको बताए।

 
‘वार्ता सौहार्यदपूर्ण भयो। सकरात्मक भयो। एकअर्काका कुरा सुन्ने, बुझ्ने काम भयो,’ पत्रकारहरूसँग उनले भने, ‘हामीले आफ्ना अडान राख्यौं।

 

अध्यक्ष ओलीले सकारात्मक रूपमा वार्ता अगाडि बढाउने आफूहरूको अपेक्षा रहेको पनि पन्तले जानकारी दिए।

 

गत फागुन २८ मा ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए।

 

उक्त निर्णयबारे आफूहरूलाई जानकारी नभएको र निर्णय भएको भए नमान्ने अडान आफूहरूले आज अध्यक्ष ओलीलाई गराएको पन्तले बताए।

 

२८ गते भएको बैठकका निर्णय थाहा छैन। निर्णय स्वीकार्दैनौं। त्यो बैठक विधान अनुसार छैन। स्वीकार्न सकिन्न भनेर हामीले भनेका छौं।

 

त्यस्तै वार्ता सकिएलगत्तै दुवै पक्ष आन्तरिक परामर्शमा जुटेका छन् । एमालेमा विवाद चर्किएको बेला आज ओली र नेपालबीच दोस्रो तहका नेताहरुलाई साथमा राखेर छलफल भएको थियो ।

 

भेटवार्तामा ओली पक्षबाट नेताहरु ईश्वर पोखेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ थिए । नेपालको तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी भए ।

 

उक्त छलफलपछि नेता पन्त बाहिरिएका छन् भने अन्य नेताहरु पार्टी कार्यालयमा नै आ–आफ्नो पक्षका नेताहरुसँग छलफलमा जुटेको छन् ।