कुवेतमा अवैध बसेका श्रमिकलाई स्वदेश फर्किने समय थप एक महिना

काठमाडौं,बैशाख ४। कोरोना संक्रमणका करण हवाई उडानमा प्रतिबन्ध लगाएपछि कुवेतले गैरकानुनी रूपमा बसोबास गरेका नेपालीसहित विदेशी श्रमिकहरुलाई स्वदेश फर्किन दिएको समय एक महिना थप गरेको छ ।

 

 

कुवेतले अवैध श्रमिकहरुलाई स्वदेश फर्किन पाउने समय मे १५ तारिखसम्म थपेको कुवेतका आन्तरिक मन्त्री शेख थामर अल अलीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ । यसअघि अप्रिल १५ तारिखसम्म समय तोकिएको थियो ।

 

 

कुवेतमा बसोबास गर्न चाहने अवैध श्रमिकहरुले तोकिएको समयावधि अप्रिल १५ देखि मे १५ तारिख सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने जनाएको छ । जरिवाना तिरेपछि उनीहरूलाई देश छोड्ने निश्चित अवधि दिइनेछ र कुवेत फर्कने अनुमति दिइनेछ ।

 

 

आफूलाई वैध बनाउन वा निर्धारित अवधिमा मुलुक नछोडे कानूनी उपायहरू अपनाउदै डिपोट गरिने र यसरी फिर्ता पठाइएकाहरुले पुनस् कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।

 

 

कुवेत सरकारको यो निर्णयसँगै गैरकानूनी रुपमा बसेका नेपाली श्रमिकले पनि अबको एक महिना भित्रमा जरिवाना तिरेर वैधानिक हुने वा स्वदेश फर्किने अवसर पाउने छन् । त्यहाँ अझै पनि ठूलो सङ्ख्यामा बसेका गैरकानुनी रुपमा नेपाली श्रमिकहरु रहेको बताइन्छ ।