काठमाडौंको माइतीघर मण्डलामा राष्ट्रघाती सन्धि सम्झौताको विरोधमा २३ दलीय मोर्चाको विरोध प्रदर्शन

काठमाडौं,बैशाख ६।नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायत २३ दलीय मोर्चाले आज मातीइघर मण्डलामा एमसीसी सम्झौता लगायतका राष्ट्रघाती सन्धि सम्झौताको विरोधमा प्रदर्शन गरेका छन्।

 

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापाले प्रधानमन्त्री केपी ओलीले भारतीय खुफिया एजेन्सी रअप्रमुख सामन्त गोयलसँग चार बुँदे गोप्य सम्झौता गरेर नेपालको सार्वभौमिकता कमजोर पारेको टिप्पणी गर्नुभएको छ ।

 

आफ्नो सत्ता टिकाउन उनले साम्राज्यवादी र विस्तारवादी शक्तिको भद्दा दलाली गरेको चर्चा गर्दै केपी ओलीको सरकार संवैधानिक, राजनैतिक र कानुनी कुनै पनि दृष्टिले वैधानिक नभएको दाबी गर्नुभयो ।

उहाँले रअप्रमुख सामन्त गोयलसित लिम्पियाधुरा सीमा अतिक्रमणबारे ठोस कदम नचाल्ने सहमति भएकाले पछिल्लो समयमा प्रधानमन्त्री ओली त्यसबारे नरम रूपमा प्रस्तुत भइरहेको पनि बताउनुभयो ।

 

त्यसैगरी राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले इतिहासमा विदेशी साम्राज्यवादीहरूको दलाली गरेर कुनै पनि शासकको सरकार नबचेको दावी गर्नुभयो ।

 

नेता भट्टले भन्नुभयो– ‘सरकार बच्ने विदेशीहरूको दलाली गरेर होइन, आफ्नो देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गरेर हो ।


उहाँले प्रधानमन्त्री कामचलाउ भइसकेको र स्वयम् उनकै पार्टीले उनलाई प्रधानमन्त्रीमा कायम राख्न नचाहेको बताउनुभयो ।

 

 

एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले विभिन्न २३ वटा राजनीतिक दलहरुले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शनमा सहभागिहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन,एमसीसी परियोजना खारेज गर’ लगायतका नारा लगाएका थिए ।

 

त्यस्तै प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं,एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’ लगायतका नारा लेखिएका पम्पलेट पनि बोकेका थिए ।

त्यस्तै नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केस हस्तबहादुर केसी, नेकपा (माले) का सुरेन्द्र ढकाल, नेकपा (माओवादी–केन्द्र) का मेघबहादुर खत्री, जनसमाजवादी पार्टीका डम्बरविक्रम कार्की, नेकपाका अर्जुन कार्की, राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनी र सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) की भावना विद्रोही लगायतले विरोध मन्तव्य राख्नुभएको थियो ।

 

नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी) ३.नेकपा (माले) ४. राष्ट्रिय जनमोर्चा,नेपाल ५.देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा(माओवादीकेन्द्र), ८. नेकपा (माओवादी केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च १०. जनसमाजवादी पार्टी, ११. नेकपा (संयुक्त), १२.राष्ट्रिय जागरण परिषद्, नेपाल १३.वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्शेविक), १५.राष्ट्रवादी केन्द्र, नेपाल, १६.एमसीसी खारेज अभियान, १७. पुष्पलाल अध्ययन समाज,१८.सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९.माक्र्सवादी एकता अभियान, २०. नेकपा (माक्र्सवादी), २१.नेकपा माक्र्सवादी (पुष्पलाल), २२.ने.क.पा.(माओवादी) र २३. समाजवादी राष्ट्रिय मञ्च नेपाललगायतका पार्टी तथा संघसंस्थाले विरोध प्रदर्शनको संयुक्त रुपमा आयोजना गरेका थिए ।