काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाई,सञ्चारकर्मीलाई सूचना विभागको परिचयपत्र अनिवार्य

काठमाडौं,बैशाख १९। सरकारले आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गर्ने भएको छ।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

 

शनिवार काठमाडौंको सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको थियो।

 

 

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

 

 

शनिवार पनि सडकमा सवारी चाप बढेको देखिएकोले आजदेखि थप कडा हुने उहाँको भनाई छ। बैंक तथा सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउने सरकारको तयारी रहेको उहाँले बताउनुभयो ।

 

 

सञ्चारकर्मीहरूका लागि पनि सूचना विभागबाट जारी परिचयपत्र अनिवार्य गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।त्यसैगरी अब शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडेमा त्यसलाई होल्ड गरिने भएको छ ।