सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं । नेकपा एमालेले काँग्रेस नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार ओली पक्षका नेताहरु मात्रै सहभागी भएर बसेको स्थायी कमिटीको बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

 

च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू पनि पुगेका थिए। उनीहरु सो बैंठक रोक्न आग्रह गरेका थिए । बैठकस्थलमा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका थिए।

 

तर अध्यक्ष ओलीले ‘बैठक जारी रहन्छ, कार्यसूची अगाडि बढाउनुस्’ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए । बैठकमा उपस्थितिको हस्ताक्षर गर्न भनिए पनि आफूहरूले हस्ताक्षर नगरेको उनीहरूले बताए।