एमालेको १० औं केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाल पक्षको अनुपस्थित

काठमाडौँ । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा सुरु भएको छ । सो बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलङ्घन गर्ने नेतामाथिको कारवाही लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

 

असन्तुष्ट माधव नेपाल पक्षले उठाउँदै आएको माग अनुसार नै बैठक बसे पनि नेपाल पक्षले एकलौटी रूपमा बैठक बोलाएको भन्दै अनुपस्थित रहेको छ।

 

आइतबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरित केही सांसदले मतदान गरेका थिए भने केही सांसद मतदानमै सहभागी भएनन् । सर्वोच्च अदालतको निर्णय अनुसार उनीहरुलाई संसदीय कारवाही गर्न नमिल्ने भएपनि पार्टीले अनुशासनको कारवाही गर्न सक्ने ओली पक्षका नेताहरुले बताउदै आएका छन् ।

 

त्यस्तै नेकपा एमालेले यसअघि आगामी साउन २५ गतेबाट विधान अधिवेशन बोलाउने निर्णय गरेकाले त्यसको तयारीका बारेमा समेत केन्द्रीय समिति बैठकले निर्णय गर्ने बुझिएको छ ।