जजिरा एयरलाइन्समार्फत अफगानिस्तानबाट १२७ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौँ। अफगानिस्तानबाट एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरू जजिरा एयरलाइन्समार्फत् आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्। उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी गरेको छ।

 

 

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो ।

 

 

अफगानिस्तानमा अझै केही नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयले सोमबार साँझसम्म १३४ नेपालीहरु सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ ।

 

विद्रोही तालिबान समूहले अफगानिस्तानमा नियन्त्रण जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विभिन्न देशहरुले सेना पठाएर आफ्ना नागरिकहरुलाई उद्धार जारी राखेका छन् । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ र सहयोगी देशहरुलाई पत्र लेखेर नेपालीहरुलाई पनि उद्धार गरिदिन आग्रह गरेको छ ।