एमाले अध्यक्ष ओली र एमसीसी उपाध्यक्षबीचको भेटवार्ता सकियो

काठमार्डौं। एमालेका अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको भेटवार्ता सकिएको छ । दिउँसो २ बजे ओलीको निजि निवास बालकोट पुगेकी सुमार अहिले केहीबेर अघि मात्रै बाहिरिएकी हुन् ।

 

 

 

सुमारसहितको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा अध्यक्ष ओली, स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा सहभागी थिए। दुई प्रतिनिधिमण्डलबीच एमसीसीको विषयमा छलफल भएको हो।

 

 

संसद्मबाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमारसहितको टोली नेपाल आएर प्रमुख प्रतिपक्ष दलसँग भेट गरेको हो। चारदिने भ्रमणमा नेपाल आएकी सुमारले शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ।

 

 

 

उनले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भटटराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यसूची छ। प्रधानमन्त्री देउवालाई सुमारले शुक्रबार अपरान्ह भेट गर्ने कार्यतालिका तय भएको सचिवालय स्रोतले जनाएको छ।