सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं। छुट्‍टाछुट्‍टै स्‍थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्‍यान गएको छ । काठमाडौँ, सिरहा र कपिलबस्‍तुमा भएका छुट्‍टाछुट्‍टै दुर्घटनामा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

 

 

काठमाडौं महानगरपालिका-९ एयरपोर्टस्थित सडकमा बा ७४ प २५३५ नम्बरको मोटरसाइकललाई प्रदेश ३-०१-००५ ख ९७५६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ घुँगीबेसी-५ घर भएका ३० वर्षीय सबिन पौडेलको मृत्यु भएको छ ।

 

 

शुक्रबार बिहान बसको ठक्करबाट गम्भीर घाइते भएका उनको सिनामंगलस्थित केएमसी अस्पतालतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको प्हरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

सिरहा, लहान नगरपालिका-१२ भोटिया चोकमा स १० प ६७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक लहान नगरपालिका-२० बस्ने २१ वर्षीय विवेक साहको शुक्रबार मृत्यु भएको छ ।

 

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

 

उक्त मोटरसाइकलले पदैलयात्री सिरहा लक्ष्मुपुरपतारी गाउँपालिका-६ बस्ने ७० वर्षीया दुखीलाई ठक्कर दिई ना ६ ख १६१८ नम्बरको रोकी राखेको ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

 

 

 

साथै ठक्करबाट घाइते भएकी दुखीको लहानस्थित धमिनी पोलिक्लिनिकमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

कपिलवस्तु, शिवराज नगरपालिका(१ रेन्जर पोष्ट नजिक पूर्वपश्चिम राजमार्गमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ७५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ ।

 

 

 

ठक्करबाट गम्भीर घाइते भएका उनको संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।