अनलाइन सेवाका नाममा सेवाग्राहीलाई सास्ती

काठमाडौं। सेवाग्राहीहरूलाई छिटोछरितो सेवा दिने उद्देश्यले मालपोत कार्यालयहरूले सुरु गरेको अनलाइन सेवाले उल्टै सेवाग्राहीहरूलाई सास्ती दिन थालेको छ।

 

 

अनलाइन सेवा सुरु गरिएका मालपोत कार्यालयहरूमा अनलाइनबाटै जग्गाको स्वामित्व हस्तान्तरणका लागि निवेदन तथा लिखत भर्नुपर्ने व्यवस्था गरिएको छ।

 

 

अनलाइनबाट भरिएको निवेदनलाई मालपोत कार्यालयका कर्मचारीहरूले अनलाइनबाटै पास गर्ने व्यवस्था गरिएको छ।

 

 

तर, भूमि व्यवस्थापन विभागले देशभरका मालपोत कार्यालयमा सुरु गरेको अनलाइन सेवा तथा सफ्टवेयरमा छिटोछिटो समस्या आउने गरेको छ।

 

 

 

यहाँसम्म कि सोमबार र बुधबार सफ्टवेयर करिब बन्द जस्तै हुने, बन्द नभए पनि निकै सुस्त हुने सेवाग्राहीको गुनासो छ।

 

 

भूमि व्यवस्थापन विभागका अनुसार सबैभन्दा बढी जग्गाको काराबारो सोमबार र बुधबार हुन्छ। सोमबार र बुधबार शुभ दिन मानिएकाले यस दिन जग्गाको कारोबारो बढी हुने लेखापढी व्यावसायीहरू बताउँछन्।

 

 

 

जुन दिन जग्गाको कारोबारो बन्द हुन्छ। त्यसै दिन सफ्टवेयर सुस्त हुन्छ या बन्द नै,’ मालपोत कार्यालय कलंकीमा १५ वर्षदेखि लेखापढी व्यावसाय गर्दै आएका नेत्र पोखरेलले भने, ‘दिनभर एउटा लिखित पास हुँदैन।

 

 

यसबाट सेवाग्राहीहरूले झनै सास्ती भोगेका छन्।’ उपत्यकाका मालपोत कार्यालयहरूमा सफ्टवेयरमा झनै समस्या आउने गरेको छ। ‘सफ्टवेयर राम्रोसँग चल्यो भने आश्चर्य मान्नुपर्छ,’ भक्तपुर मालपोत कार्यालयका एक सेवाग्राही भन्छन्।

 

 

 

सफ्टवेयरमा समस्या आउँदा एक दिनमा हुने काम दुईतीन दिन लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। भूमि व्यवस्थापन विभागले दुई वर्षदेखि अनलाइन सेवा प्रारम्भ गरेको हो।

 

 

 

विभागका अनुसार मालपोत कार्यालय बाहिर भूसेवा केन्द्रमार्फत लेखापढी व्यावसायीहरूका लागि एलआरआइएमएस (ल्यान्ड रिकर्ड इनफरमेसन मेनेजमेन्ट सिस्टम) तथा कार्यालयका कर्मचारीहरूका लागि पाम (पब्लिक ऐक्सेस मोडेल) लागु गरेको छ।

 

 

 

हाल एलआरआइएमएस १ सय २६ कार्यालयमा तथा पाम ६९ कार्यालयमा लागु गरिएको छ। जग्गासम्बन्धी कारोबारोका लागि निवेदन तथा लिखत एलआरआइएमएसबाट भर्नुपर्ने र यसरी भरिएको निवेदन कार्यालयको अर्को सफ्टवेयर पाममा हस्तान्तरण हुने व्यवस्था गरिएको छ।

 

 

 

पाममा हस्तान्तरण भएको लिखतलाई कार्यालयका कर्मचारीहरूले अनलाइनबाटै प्रक्रिया अघि बढाएर पास गर्ने गरिएको छ।

 

 

अनलाइन सेवा सुरु भएपछि एक दिन देशभर कति संख्यामा जग्ग्गा खरिदबिक्री तथा कारोबारो भयो, कति राजस्व उठ्यो, एउटा व्यक्तिको जग्गा देशभर कति छ, कहाँकहाँ छ, यसको सबै रेकर्ड काठमाडौंमै बसेर सजिलैसँग थाहा पाउन सकिन्छ।

 

 

त्यसैले यो प्रणाली निकै उपयोगी मानिएको छ। तर, सफ्टवेयरमा समस्या आउँदा यो सेवा उद्देश्यअनुसार प्रभावकारी हुन नसककेको स्वयं मालपोतका कर्मचारीहरू बताउँछन्।

 

 

पाम सफ्टवेयर यसको क्षमताभन्दा धेरै कार्यालयहरूमा प्रयोग गरिएकाले यस्तो समस्या आएको हो,’विभागका एक कर्मचारी भन्छन्, अहिले ६९ कार्यालयमा यो सफ्टवेयर चलाइएको छ।

 

 

 

विभागका महानिर्देशक शेषनारायण पौडेलले पनि अनलाइन प्रणालीमा बेलाबेलामा समस्या आउने गरेको स्वीकार गरे। यसका लागि अनलाइन सेवालाई अद्यावधिक गर्ने काम भइरहेको उनले जानकारी दिए।

 

 

 

यसबारे छलफल गर्न मन्त्रालयले बैठक बेलाएको उनले बताए। मालपोत कार्यालय कलकींका नापी प्रमुख पूर्णबहादुर केसीले केन्द्रबाट सञ्चालन गरिएको अनलाइन प्रणालीमा बेलाबेलामा समस्या आउने गरेको, कुनै दिन दिनभरजसो बन्द हुने गरेको बताए।

 

 

 

नापी विभागले पनि अनलाइनबाट आफ्नो सेवा प्रारम्भ गरेको छ। विभागले २०७८ वैशाख २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मीनभवनस्थित विभागको कार्यालयमा बोलाएर मेरो कित्ता तथा नेलिस (नेपाल ल्यान्ड इनफरमेसन सिस्टम) कार्यक्रम उद्घाटन गर्न लगाएको थियो।

 

 

 

नापीको अनलाइन सेवामा मालपोतको झै समस्या नेदेखिए पनि कहिलेकाँही यो सेवा पनि ढिलो हुने गरेको सेवाग्राहीहरू बताउँछन्।

 

 

तर विभागका महानिर्देशक प्रकाश जोशीले भने नापीको अनलाइन सेवामा अहिलेसम्म कुनै समस्या नआएको, कुनै समस्या देखिए तत्काल सम्बोधन गर्न एउटा टिमलाई चौबिसै घन्टा तयार राखिएको बताए।

 

 

 

नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तले भने केन्द्रबाट चलाइएको अनलाइन सेवा कहिलेकाहीँ ढिलो हुने गरेको बताए।नागरिक दैनिकमा खबर छ।