नेपाल संवत्‌ले भाइचारको सन्देश दिएको प्रधानमन्त्री देउवा भनाई

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतले विविधतायुक्त नेपाली समाजमा आपसी एकता र भाइचाराको सन्देश दिएको बताएका छन। नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले मध्यपुर थिमिको शंखधरचोकमा अवस्थित साख्वाको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवत्‌ले राष्ट्रिय एकतालाई मजबुद बनाउन र एकतावद्ध बनाउन प्रेरणा मिलेको बताएका हुन्।

साख्वाको कदमले नेपालीलाई ऋण र दासत्वको जीवन त्यागी स्वाभिमानी र स्वतन्त्र भएर बाँच्न सिकाएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले साख्वाको कार्यबाट सबैले सिक्नुपर्ने बताए।

उनले नेपाल संवत्‌को मोबाइल एप सार्वजनिक गर्दै यसले नेपाल संवत्‌लाई दैनिक जीवनमा प्रयोग गर्न सहज र सरल हुने विश्वास व्यक्त गरे। उक्त अवसरमा उनले शंखधर बुलेटिन सार्वजनिक गर्नुका साथै नेपाल संवत्‌को पात्रो तयार गर्न योगदान दिने नेपाल पञ्चाङ्ग निर्णय समिति र शंखधरचोक नामाकरण गरी शंखधरको प्रतिमा स्थापना गर्न अतुलनीय योगदान दिने मध्यपुर थिमि नगरपालिकाका पूर्वनगरप्रमुख एवं प्रतिष्ठानका संस्थापक अध्यक्ष मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेका थिए।