प्रहरीमा अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका अधिकृतको अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएको छ ।

 

 

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक महिना अघि एक तह बढुवा गर्ने निर्णय गरेको हो ।

 

 

 

गृह मन्त्रालय स्रोतका अनुसार अब कम्तिमा ८ वर्ष एउटै पदमा रहेर अवकाशमा पाउँदा उनीहरुले बढुवा पाउनेछन् । यो व्यवस्थामार्फत प्रहरी सहायक निरीक्षकमा बढुवा गर्दा प्रहरी हवल्दार र वरिष्ठ प्रहरी हवल्दार पदमा गरेको सेवा अवधि दुवै जोडिने प्रस्ताव छ ।

 

 

 

प्रहरी निरीक्षक पदमा बढुवा गर्दा प्रहरी नायब निरीक्षक र वरिष्ठ प्रहरी नायब निरीक्षक पदमा गरेको सेवा अवधि पनि गणना हुने व्यवस्था छ ।

 

 

 

यसले प्रहरी कर्मचारीको मनोबल बढाउन मद्दत गर्ने भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले निर्णयार्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो ।

 

 

 

 
केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवर भन्छन्, ‘मन्त्रिपरिषद्‍बाट निर्णय भएको सुनेको छु, विस्तृत विवरण आइसकेको छैन । तर यो निर्णय प्रहरीका तल्लो तहका कर्मचारीका लागि ऐतिहासिक हो ।

 

 

 

 

कुँवरका अनुसार विभिन्न प्रहरी महानिरीक्षकको पालामा पनि यो निर्णय गराउने प्रयास भए पनि सफल हुन सकेको थिएन।

 

 

यसअघि प्रहरी निरीक्षकसम्मका कर्मचारीले १२ वर्षसम्म जागिर अवधि पूरा गरे एक तह बढुवा गर्ने व्यवस्था थियो ।

 

 

 

तल्लो दर्जामा बढुवामा जाम लागेकाले मनोबल गिरेको भन्दै प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले तीन वटा दर्जा पनि थप गरेको छ ।

 

 

 

थप गरिएका दर्जामा प्रहरी वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार छन् । प्रवक्ता कुँवर भन्छन्, ‘यो निर्णयले तल्लो तहका प्रहरीमा उत्साह ल्याएको छ, अब एउटै पदमा १६, १७ वर्षसम्म बसिरहनुपर्ने समस्या टर्ने भएको छ।