हात्तीपाइले रोगविरुद्ध औषधि खुवाईँदै

बलेवा । बागलुङमा जिल्लामा १३ औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । १२औँ पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३ औँ पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

 

 

 

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम औषधि सेवन कार्यक्रम सञ्चालनका लागि बागलुङका सरोकारवालासँग समीक्षा तथा योजना गोष्ठी सम्पन्न गरेको छ ।

 

 

 

जिल्लाका दशवटै स्थानीय तहले फागुनको १५ गतेदेखि अभियानअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएका छन् ।

 

 

 

हात्तीपाइलेको प्रारम्भिक खोजीका क्रममा जाँच गरिएकामध्ये २.४६ प्रतिशतमा सङ्क्रमण देखिएकाले आम औषधि सेवन अभियान १३औँ पटक सञ्चालन गर्नुपरेको हो ।

 

 

 

२०७७ माघ महिनामा आम औषधि सेवन अभियान सञ्चालन पूर्व गरिएको परीक्षणमा १० जनामा पुनः सङ्क्रमण देखिएको थियो ।त्यसयता गत चैतमा एक पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको छ ।

 

 

 

इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सङ्क्रमितको दर २ प्रतिशतभन्दा कम नआएमा लगातार दुई वर्ष आम औषधि सेवन अभियान सञ्चालन गरेर औषधि खानुपर्छ ।

 

 

 

बागलुङ नगरपालिका–१४ को नारायणस्थानमा ८ जना र कुश्मीशेरामा दुई जनामा सङ्क्रमण फेला परेको थियो । दुवै ठाउँमा तीनसय जनामा परीक्षण गरिएको थियो ।

 

 

 

आम औषधि सेवन कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुनेछ । परीक्षण गरिएकामध्ये दुई प्रतिशतभन्दा कम मानिसमा संक्रमण देखिएको अवस्थामा मात्रै यो आम औषधि खाने अभियान सञ्चालन गर्नु नपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

 

 

 

एकजना मात्रै सङ्क्रमित औषधि खानबाट छुट्दा मात्रै जिल्लाभर नै आम औषधि अभियान सञ्चालन गर्नुपर्ने अवस्था आउने भन्दै गुरौले सबै नागरिकलाई औषधि खान आग्रह गरे ।

 

 

 

गोष्ठीमा सहभागी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखाका प्रमुखले सङ्क्रमण देखिएको क्षेत्रमा मात्रै आम औषधि सेवन अभियान चलाउने वा सबै स्थानीय तहमा जाँचको व्यवस्था गर्न माग गरेका थिए ।

 

 

 

 

हामीले आम औषधि सेवन चलाउदा समाजमा जानेबुझेका शिक्षकनै औषधि खान मान्नुहुन्न, हाम्रोमा जाँच भएको होइन हामीले किन खाने भन्छन् ?

 

 

 

गलकोट नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख मीरा शर्माले भने, पटक–पटक सञ्चालन भएको अभियानमा स्वास्थ्यकर्मीलाई असहज भइरहेको छ ।

 

 

 

 

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका अनुसार पाँच वर्ष लगातार सबै नागरिकले आम औषधि सेवन अभियानमा सहभागी हुँदा छैटौं पटक औषधि खानुपर्दैन । तर अभियानमा सबै सहभागी नहुँदा पटक–पटक अभियान सञ्चालन गर्नुपरेको हो ।