गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु

बारा । अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर बाराको सिम्रौनगढमा एकजनाको मृत्यु भएको छ ।

 

 

घटनामा अर्का एकजना घाइते भएका छन् । नेपालबाट भारततर्फ गाँजा लैजादै गरेको सूचना पाएपछि सिम्रौनगढस्थित ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो। बुधबार रातीको समयमा गाँजा लिएर तस्करको समूह महुवानी आएपछि दोहोरो फायरिङ भएको हो ।

 

 

 

प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उक्त समूहले गोली चलाएको र प्रहरीले जवाफी कारवाही गरेको प्रहरी प्रवक्ता राजेश थापाले बताए । प्रहरीमाथी गोली चलाएर भाग्न खोजेका उनीहरुमध्ये दुईजनालाई प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो ।

 

 

 

घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान भने खुलेको छैन् । घटनामा संलग्न भारत मोतिहारीका ४० वर्षीय हिरदेश गिरी प्रहरी नियन्त्रणमा छन् ।

 

 

 

उनीहरुको साथबाट प्रहरीले ७५ केजी गाँजा समेत बरामद गरेको छ । प्रवक्ता थापाका अनुसार ६७ जनाको समूहमा रहेका तस्करले पाँचवटा बोरामा हालेर गाँजा भारततर्फ लैजादै गरेका थिए । पूर्वसूचना पाएको प्रहरीले तस्करको समूहलाई नियन्त्रणमा लिन एम्बुस थापेर बसेको थियो ।

 

 

 

सोही क्रममा प्रहरीले नियन्त्रणमा लिन खोज्दा घटना भएको हो । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको प्रवक्ता थापाले बताए ।