पेट्रोलियमको मूल्यवृद्धि र एमसीसीविरुद्ध सशक्त सङ्घर्षमा उत्रिन अखिल (क्रान्तिकारी)को सम्पूर्णमा अपिल

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थ र राष्ट्रघाती एमसीसीविरूद्ध सशक्त संघर्षमा उत्रिन अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत आग्रह गरिएको छ।

 

नेपाल सरकार र नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँको दरले मूल्यवृद्धि गरेको छ । उक्त मूल्यवृद्धिको हाम्रो सङ्गठन घोर विरोध एवम् निन्दा गर्दछ ।

 

 

पटकपटक गरिएको मूल्यवृद्धिका कारण अहिले पेट्रोलको मूल्य प्रतिलिटिर १५०, डिजेलको मूल्य प्रतिलिटर १३३ र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ।

 

 

कोभिड–१९ बाट प्रताडित नेपाली जनतालाई राहत दिनुको सट्टा पटक–पटक जनताको ढाड सेक्ने गरी गरिएको चरम मूल्यवृद्धिले जनताको चुल्होसमेत नबल्ने अवस्था सिर्जना भएको छ ।

 

 

शेरबहादुर देउवा नेतृत्वको सरकार भने जनताप्रति गैरजिम्मेवार बन्नुका साथै दलाल र माफियाहरुको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन रहेको छ ।

 

सत्ता गठबन्धन र प्रतिपक्षी दलका शीर्ष नेताहरुले जनताको चाहना र मर्मविपरीत विदेशीको साखुल्ले दलाल बन्न राष्ट्रघाती एम.सी.सी. सम्झौतालाई संसद्बाट अनुमोदन गरेका छन् ।

 

 

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा नेपाल सरकारलाई गम्भीर हुन जोडदार आग्रह गर्दै जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ताका लागि नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायलाई जोडदार अपिल गर्दछौं ।

 

 

 

साथै, राष्ट्रघाती एम.सी.सी. सम्झौता पूर्णरुपमा खारेजीको निम्ति सशक्तरुपमा सङ्घर्षको मैदानमा उत्रन विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आम जनसमुदायलाई हार्दिक आग्रह गर्दछौं ।