कालीकोटमा ३३ केभिए विद्युत् प्रसारण लाइन जडान
कालीकोट । कालीकोटमा नेपाल विद्युत् प्राधिकरणले ३३ केभिए राष्ट्रिय प्रसारण लाइन जडान गरेको छ । यसअघि दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभिए विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान गरिएकोमा त्यसलाई थप गरेर ३३ केभिए प्रसारण लाइन जडान गरिएको हो ।
विगतमा कालीकोटमा ११ केभिए प्रसारण लाइनमा विद्युत्को भोल्टेज घटबढ हुने समस्या र नागरिकको माग अनुसार विद्युत् आपूर्ति गर्नका लागि ३३ केभिए प्रसारण लाइन जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए ।
यो कार्यसँगै कालीकोटको सदरमुकाम मान्मबाट जिल्लाका सबै पालिकाको केन्द्रसम्म विद्युत् प्रसारण लाइन विस्तारको काम अगाडि बढ्ने प्रमुख पौडेलले बताए ।
दुई वर्षमा कर्णालीका सबै जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान गर्ने र त्यसका लागि विद्युत् प्राधिकरणले रु २५ अर्बको बजेट विनियोजन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
अहिले विद्युत् नपुगेका हुम्ला, मुगु र डोल्पा जिल्लामा सोलार प्लान्ट जडान गरेर विद्युतको आपूर्ति पूरा गरिनेछ”, उनले भने, “अन्य जिल्लामा विद्युतको लाइन विस्तार गरेर दुई वर्षमा कर्णालीका सबै गाउँ गाउँमा विद्युत् पु¥याइने छ ।