कांग्रेसले परिपत्र : ‘हरेक दिन १० घर र ५० जनासँग अनिवार्य सम्पर्क गर्नु’

काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले स्थानीय तहमा रहेका समिति र त्यसका सदस्यहरुलाई कडाइका साथ निर्वाचन अभियानमा लाग्न जारी गरेको परिपत्र कडाइका साथ लागु गर्न मातहतका कार्यसमितिलाई निर्देशन दिएको छ।

 

 

 

 

कांग्रेसले निर्वाचनकेन्द्रित रणनीतिअन्तर्गत तहगत कार्यसमितिलाई परिपत्र गर्दै निर्वाचनकेन्द्रित भएर लाग्न र प्रत्येक दिन कम्तीमा १० घर र ५० जनासँग सम्पर्क गर्नु भनेको छ । कांग्रेसले देशभरका सवै वडामा एकसाता अघिनै परिपत्र गरेको थियो ।

 

 

 

उक्त परिपत्रमा वडा कार्यसमितिलाई निर्वाचनकेन्द्रित रणनीति तर्जुमा गर्न सहज हुने गरी टोल कार्यसमितिले आफ्नो क्षेत्रभित्रका कांग्रेस सदस्यहरूको विवरण, दाताको विवरण, नयाँ मतदाताको अद्यावधिक विवरण टिप्न घरदैलोमा पुग्ने, समस्या सुन्ने, संवाद गर्नेलगायत काम गर्न निर्देश गरिएको छ ।

 

 

 

 

टोल कार्यसमितिका सदस्यलाई निश्चित काम बाँडफाँड गरी मतदातासँग नियमित भेटघाट गर्ने, दुःखसुखमा सामेल हुनेलगायतको जिम्मेवारी परिपत्रमा तोकिएको छ। वडा समितिले विधान कार्यान्वयन गराई चैत ११ गतेभित्र सोको विवरण पालिका कार्यसमितिमा पठाउन निर्देशन समेत दिइएको छ ।

 

 

 

 

परिपत्रानुसार वडादेखि स्थानीय तहले चैत ११ भित्र कोषाध्यक्ष मनोनयन अनिवार्य गर्नुपर्ने छ । प्रत्येक सभापतिहरूले कार्यसमितिमा एकतिहाइ सदस्य महिला तथा समावेशी सिद्धान्त र अपांगता भएका व्यक्तिहरू समेतबाट चैत ११ भित्र २० प्रतिशत सदस्य मनोनीत गर्नुपर्ने छ ।

 

 

सभापति पदमा पराजित भएका उमेदवारलाई स्वतः कार्यसमितिको सदस्य बनाउन भनिएको छ ।

 

 

 

 

कांग्रेस परिपत्रमा तल्ला तहका कार्यसमितिहरूलाई १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूको प्रतिनिधित्व अनिवार्य गराउन निर्देशन दिइएको छ ।

पार्टी विधानानुसार टोलदेखि केन्द्रसम्म आठ तहका संरचना छन् ।

 

 

 

परिपत्रानुसार तल्ला तहका कार्यसमितिका सभापतिदेखि सदस्यहरूलाई विधानले तोकेबमोजिम भूमिका निर्वाह गर्न भनिएको छ । अर्थात्, कसैलाई पनि भूमिकाविहीन बनाउन नपाइने निर्देशन दिइएको छ।