शिक्षक सेवामा पास गराइदिने भन्दै लाखौं उठाएर २ जना फरार

सुर्खेत । शिक्षक सेवा आयोगले लिइरहेको स्थायी शिक्षकको परीक्षामा पास गराइदिने प्रलोभन दिएर ठूलो मात्रामा ठगी भएको छ ।

 

 

 

आयोगका कर्मचारीसँग सेटिङ मिलाएर पास गराइदिने भन्दै २ जनाले ६० लाखभन्दा बढी रकम ठगी गरेका हुन् ।

 

 

 

 

यसरी रकम ठगेर फरार हुनेमा कालिकोट गेलाका जगत शाही र मनराज शाही रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

 

 

 

प्रहरीका अनुसार शिक्षक सेवाको परीक्षा दिन सुर्खेत आएका परीक्षार्थीहरुबाट जनही रु २ लाखका दरले ६० लाखभन्दा बढी रकम असुलेर उनीहरु फरार भएका हुन् ।

 

 

 

 

 

सुर्खेतको मंगलगढीको जेनिथ इन्टिच्युट र एमपीजे मःम सेन्टरमा उनीहरुले हस्तलिखित प्रश्न तथा उत्तरसहितको फोटोकपी बाँड्दै परीक्षार्थीहरुलाई लोभ्याएका थिए।

 

 

सेटिङ मिलाएर प्रश्नपत्र र उत्तर लेखेर पठाइदिने प्रलोभन देखाएर ३० जनाभन्दा बढी परीक्षार्थीबाट २ लाखका दरले पैसा उठाएको उजुरी परेको छ ।

 

 

 

पीडित ३० जनाले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मौखिक उजुरी दिएपछि घटना बाहिरिएको हो ।

 

 

 

 

 

उजुरी परेपछि प्रहरीले यसरी प्रश्नपत्र लिक गराएर पास गराउने प्रलोभन दिने जगत शाही र मनराज शाहीको खोजी तीव्र पारेको छ ।