मानव अंगसहित २६ वर्षीय भारतीय नागरिक पक्राउ

काठमाडौं ।विराटनगरबाट सशस्त्र प्रहरीले मानव अंगसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

 

 

मंगलबार सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीका प्रहरी निरीक्षक प्रभातकुमार गौतम नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ रानी नाकाको १ नम्बर ढाटबाट २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो ।

 

 

 

विहान ११ः४० बजेतिर पक्राउ परेका सिन्हा भारत विहारको पूर्णिया नगरपञ्चायतका स्थानीयबासी हुन् ।

 

 

सशस्त्र प्रहरी बल मोरङका अनुसार सिन्हाले भारततिर लैजाँदै गरेको अवस्थामा मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १÷१ वटा, काँधको हड्डी २ वटा, खुट्टाको नली हड्डी ३ वटा, हातको हड्डी ६ वटा, करङ ७ वटा, ढाड, औंला र कुरकुच्चाको हड्डी ८–८ वटा बरामद गरिएको छ ।

 

 

 

रिक्सामा चढेर मानव अंग भारततिर लैजादै गरेको अवस्थामा सिन्हालाई पक्राउ गरिएको हो ।

 

 

शंका लागेर चेकजाँच गर्ने क्रममा सिन्हाले कार्टुनभित्र प्याक गरेर लैजाँदै गरेको अवस्थामा मानिसको शरीरका विभिन्न अंगहरु बरामद गरिएको जानकारी गराइएको छ ।

 

 

 

पक्राउ परेका भारतीय नागरिक सिन्हा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी हुनसक्ने अनुमान गरिएको छ।

 

 

 

सिन्हाको साथबाट सन् २०१६ सेप्टेम्बरमा वीपी प्रतिष्ठानले बनाइदिएको विद्यार्थी परिचयपत्र फेला परेको छ ।

 

 

 

 

उक्त परिचयपत्रका बारेमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका सिन्हाले पनि आफू बीपीमा एमबीबीएस अध्ययनरत रहेको बताएका बताइएको छ ।

 

 

 

 

जानकारी अनुसार सिन्हाले आफूले अध्ययनका क्रममा प्रयोग गरेको मानव अंग अध्ययन सकेर घर फर्किने क्रममा साथमै लिएर गएको बयान दिएका छन्।