आन्तरिक कलहमा राजनीतिक दलहरु, जनतालाई सधैं बेवास्ता

काठमाडौं । राजनीतिक दलहरुभित्र व्यक्ति विशेषलाई लिएर शक्ति संघर्ष हुन थालेको छ् । पार्टीभित्र को शक्तिशाली भन्ने विषयले सबैजसो पार्टीमा प्रवेश पाएको छ । यसले दलमा आवद्ध नेतृत्वहरुबीच टकरावको स्थिति त सिर्जना गरेको छ नै, त्यसमा पनि दलभित्रै आन्तरिक किचलो थपिएको छ । जसले राष्ट्रिय हितका काम कारबाहीमा समेत समस्या देखिएको छ ।

झट्ट हेर्दा राजनीतिक दलभित्र देखिने विवाद सम्बन्धित पार्टीभित्रको सरोकारको विषय भएको भान हुन्छ । तर यही विवादले देश र जनताका महत्वपूर्ण मुद्दाहरु प्रभावित हुँदै आएका छन् । अहिले देशका प्रमुख पार्टीहरुभित्र देखिएको विवाद यसकै उपज हो । पार्टीभित्र देखिएका यस्ता विवाद प्रायजसो बाहिर सार्वजनिक नभए पनि यसले अप्रत्यक्ष रुपमा देशको प्रशासनदेखि राजनीतिक वृत्तमा प्रभाव पारिरहेको छ । यस्तै पार्टीभित्रको आन्तरिक किचलो आजको समस्या भने होइन । कुनै न कुनै बहानामा राजनीतिक दलका नेताहरु आन्तरिक विवादमा लिप्त हुने गरेको छ ।

केही दिनअघि मात्रै चर्चामा आएको नेकपा एकीकृत समाजवादी पार्टीभित्रको विवाद अहिले सतहमा नै पुगेको छ । पार्टीले सरकारमा सहभागी बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री समक्ष बुझाएपछि पार्टीभित्रको आन्तरिक विवाद सतहमा पुगेको होे । तर नेकपा एसले भने पार्टीभित्रको आन्तरिक विवादलाई अन्य दलले गठबन्धन भत्काउन गरेको चालबाजीका रुपमा लिएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल पार्टीभित्रको विवादलाई अन्य कुनै शक्तिले गठबन्धन भत्काउने चलखेल गरेको आरोप लगाउँछन् ।

 

यस्तै नेकपा एमालेभित्रको आन्तरिक विवाद पनि रोचक देखिएको छ । नेता घनश्याम भुषालले पार्टीको अनुशासन विपरीत सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै नेता भुषाललाई पार्टीको अनुशासन आयोगले कारबाहीका लागि सिफारिस गरेको छ । भुषालमाथिको कारबाहीलाई लिएर पार्टीभित्र दोहोरो बहस नै सुरु भएको छ । एक पक्षीय नेताहरु यसलाई पार्टीको नियम अनुसार नै कारबाही सिफारिस भएको टिप्पणी गरिरहेका छन् भने अर्का पक्षीय नेताहरु यसलाई गलतको संज्ञा दिइरहेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसभित्र पनि आन्तरिक विवाद देखिएको छ । पार्टीभित्र गठबन्धनको विषयलाई लिएर विगतदेखि नै आन्तरिक किचलो देखिएको हो । पार्टीभित्रको एक समूह गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजानुपर्ने पक्षमा छन् भने अर्का थरी गठबन्धनबिना नै निर्वाचन लड्नुपर्ने अडानमा देखिएका छन् । प्रायजसो सबै दलभित्र आन्तरिक विवाद भएपनि ती विवादहरुलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने बाध्यता आफुहरुसँग रहेको दलका नेताहरुले बताएका छन ।

यस्तै जनता समाजवादी पार्टीमा पनि मौषमी रुपमा आन्तरिक विवाद देखिने गरेको छ । यसले पार्टीभित्रको काम कारबाहीमा असर गरेसँगै त्यसले जनताका सवालहरु ओझेलमा पर्ने गरेको देखिएको छ । पाँच दलीय गठबन्धनलाई आगामी प्रदेश र संघीय निर्वाचनसम्म लैजानुपर्ने गठबन्धनका शीर्ष नेताहरुको भनाइ छ । तर पार्टीभित्रको आन्तरिक मामलाका कारण गठबन्धनको भविष्य नै समाप्त हुने त होइन भन्ने राजनीतिक वृतमा विश्लेषण हुन थालेको देखिएको छ । यस किसिमका राजनीतिक दलका नेताहरुको पछिल्लो व्यवहारले लोकतन्त्रमाथि नै प्रहार गरिरहेको राजनीतिक विश्लेषकहरुको आरोप छ ।

दल भित्रको आन्तरिक विवादका कारण जनताका हजारौ समस्याहरु समाधान हुन सकेका छैनन् । पार्टीभित्रको विवादले देश नै अस्थिरतातर्फ जान सक्ने राजनीतिक विश्लेषकहरुको ठहर छ । यसतर्फ पनि राजनीतिक दलहरुले बेलैमा सोच्नुपर्ने आवश्यक्ता देखिएको छ ।