‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल-टिभी नदेखाउनुहोस्, चिकित्सकहरूले दिए यस्तो चेतावनी

काठमाडौं। बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल-टिभी नदेखाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।

 

 

मोबाइल-टिभी धेरै समय हेर्दा बालबालिकामा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरूले यस्तो नगर्न आग्रह गरेका हुन् ।

 

 

 

चिकित्सकहरू आवद्ध रहेको रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले आज ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल-टिभी नदेखाउँ’ अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावका बारेमा जानकारी गराएको हो ।

 

 

 

क्लबले रुपन्देहीका विभिन्न नगरपालिकासँगको सहकार्यमा सचेतनामूलक अभियान समेत चलाउने क्लबका अध्यक्ष डा.सन्तोष पोखरेलले बताए ।

 

 

 

डा. पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निद्रामा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुने जस्ता समस्या देखिने गरेका छन् ।

 

 

 

पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा धेरै समस्या देखिएको बताउँदै उनले अभिभावक समेत यस विषयमा सचेत रहनुपर्नेमा जोड दिए ।

 

 

 

क्लबले बालबालिका बढी जम्मा हुने खोप केन्द्र, मन्टेश्वरी, सार्वजनिक निकायमा राख्ने गरी स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखलाई ब्यानर तथा सचेतना सामग्री हस्तान्तरण समेत गरेको छ ।

 

 

 

कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले क्लबले सुरु गरेको अभियान निकै सकारात्मक रहेको बताउँदै अभियानलाई साथ दिन तिलोत्तमा नगरपालिका तयार रहेको बताए ।

 

 

 

 

तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भइसकेको सन्दर्भमा ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल-टिभी नदेखाउँ’ अभियान पनि बालमैत्री कार्यक्रमसँगै अघि बढाइने बताए ।

 

 

 

 

यस्तै देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले बालबालिकालाई मोबाइल नदेखाउने विषयमा अभिभावक बढी सचेत हुनुपर्ने बताउँदै परिवर्तनको सुरुआत आफैंबाट गर्नुपर्ने बताए ।

 

 

 

यसैगरी सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले क्लबले सुरु गरेको अभियान समाज सुधारको अभियान भएकाले यो अभियानले सामाजिक सचेतना जगाउने बताए ।

 

 

 

रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले यसअघि ‘जथाभावी नथुकौँ, थुकले मृत्यु फैलाउँछ’ भन्ने अभियान सञ्चालन गरेको थियो ।