सुदूरपश्चिमका मुख्यमन्त्री र प्रतिपक्षको वार्ता निष्कर्षविहीन, फेरि छलफल हुने

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षबीचको वार्ता निष्कर्षविहीन भएको छ । आज भएको वार्ता सकारात्मक रहे पनि कुनै सहमतिमा भने पुग्न नसकेको हो ।

 

 

प्रतिपक्षी दलले सरकारलाई १४ बुँदे सुझाव पत्र बुझाएको छ । त्यसमा सहमति भए आजै संसद् सुरु हुन सक्ने प्रतिपक्ष दलका एक नेताले बताए।

 

 

असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि सदनमा अहिलेसम्म छलफल भएको छैन । प्रतिपक्षमा रहेका एमाले, जसपा र लोसपा बजेट संशोधन नहुँदासम्म छलफल हुन नदिने अडानमा छन् ।

आज बिहान ८ बजे मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षी दललाई संवादका लागि बोलाएका थिए ।

 

 

 

वार्तामा सरकारको तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी थिए ।

 

 

 

त्यस्तै प्रतिपक्षी दलको तर्फबाट एमाले दलका नेता प्रकाश शाह, प्रमुख सचेतक लीलाधर भट्ट र कार्य व्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी र लोसपाका कृष्ण चौधरी थिए ।

 

 

सुदूरपश्चिम प्रदेशमा माओवादी, नेकपा एस र कांग्रेस सरकारमा छन् । त्यस्तै एमाले, जसपा र लोसपा प्रतिपक्षमा रहेका छन् ।