नेपाली कामदार लैजान जापान तयार,यस्ता छन् सेवा सुविधा

काठमाडौं। सन् २०१९ मार्चमा नेपालीलाई जापानमा रोजगारी दिन नेपाल र जापानबीच श्रम समझदारी भएको थियो। जापानले १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीका लागि नेपालीलाई लैजाने सहमति भएको थियो।

 

 

 

तर श्रम समझदारीका केही विषय अस्पष्ट भएपछि यो प्रक्रिया रोकिएको थियो। यसै विषयमा छलफल गर्न श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको संयोजकत्वमा समिति गठन भएको थियो।

 

 

 

समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानून मन्त्रालयका हिमालचन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा।थानेश्वर भुसाल सदस्य छन्। त्यस्तै, जापानका तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा १७ जनाको प्रतिनिधिमण्डल समिति बनेको थियो।

 

 

सो विषयको समस्या समाधान गर्नका लागि बिहीबार दुवै पक्षबीच छलफल भएको हो।

 

प्रक्रिया रोकियो‚ रोकिएन परीक्षा

 

 

जापान रोजगारीको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। हालसम्म ५ हजार ३ सय २० जनाले जापानी भाषा र सीप परीक्षा पास गरेको मन्त्रालयको तथ्यांक छ।

 

 

 

सम्झौताअनुसार परीक्षा पास भएका सबै जापान रोजगारीका लागि योग्य हुने श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भुसालले जानकारी दिए। केयर–गिभरमा १ हजार ८ सय जनाले परीक्षा पास गरेको मन्त्रालयको तथ्यांक छ।

 

 

 

जापानले पहिलो चरणमा केयर–गिभरका लागि नेपाली कामदार लैजाने बताएको थियो। तर मन्त्रालयले भने निर्माण, उत्पादन र सेवा क्षेत्रमा पनि नेपाली लैजान प्रस्ताव गरेको छ। नेपालको प्रस्तावमा जापान सहमत देखिएको छ।

 

कामदार कसरी पठाउने 

 

जापानले विशिष्टिकृत दक्ष मोडल (एसएसडब्लू)बाट नेपाली कामदार लैजाने भएको छ। कामदार छनोट गर्न नेपालमा जापानका लागि जापान फाउन्डेसनले काम गर्नेछ।

 

 

फाउन्डेसन जापानको अर्धसरकारी संस्था हो। कम्प्युटर परीक्षाको जिम्मेवारी भने जापानी कम्पनी प्रोमोटिकले पाएको छ।

 

 

 

जापानले भाषा तथा सीप परीक्षामा उत्तीर्ण भएकालाई मात्रै रोजगारीका लागि लैजानेछ । दुवै परीक्षामा उत्तीर्ण भएका कामदार नेपालको वैदेशिक रोजगार विभागको जापान इकाइमा सूचीकृत गरिनेछ।

 

 

 

जापानी रोजगारदाता वा रोजगारदाताका एजेन्टले आफ्नो आवश्यकताअनुसार विभागको जापान इकाइमा माग गर्नेछ।

 

 

विभागले जापानी रोजगारदाताको आवश्यकता र उपलब्ध नेपाली कामदारबीच म्याचिङ गर्नेछ। म्याचिङ भएपछि रोजगारदाताले नेपाली कामदारको नाममा योग्यताको प्रमाणपत्र (सिआई) पठाउनेछ।

 

 

सिआई प्राप्त गरेका कामदार भिसा प्रक्रियाका लागि योग्य हुने मन्त्रालयको भनाइ छ। कामदारले अन्य कागजपत्रसहित जापानी दूतावासमा भिसाका लागि आवेदन दिन सक्नेछ।

 

 

 

भिसा प्राप्त भएपछि कामदारले मेडिकल परीक्षण, बीमा र कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्नेछ। त्यसपछि जापान इकाइ श्रम स्वीकृतिका लागि आवेदन दिन सक्नेछन्। श्रम स्वीकृतिपछि कामदार जापान जाने छन्।

 

 

यस्तो छ सेवा सुविधा

 

 

सन् २०२० बाटै नयाँ भिसा श्रेणीअन्तर्गत ५ वर्षभित्रमा केयर -गिभर, कृषि, उद्योगसहित प्राथमिकताका ४ क्षेत्रलाई बढाएर विभिन्न १४ वटा क्षेत्रमा करिब ४ लाख विदेशी कामदार लिने जापानको लक्ष्य थियो। जापानले हाल लिने भनिएका विदेशी कामदार प्राविधिक, स्वास्थ्य, निर्माण,औद्योगिक र प्राविधिक कृषिमा हो।

 

 

 

हाल वैदेशिक रोजगारीमा गइरहेका नेपाली कामदार प्रायः अदक्ष नै छन्। जापानले भाषा र दक्ष तथा अर्धदक्ष कामदार लिने भने पनि दक्ष कामदारमै जोड दिइरहेको श्रम मन्त्रालयले जनाएको छ।

 

 

 

 

नेपालमा दक्ष कामदार उत्पादन गर्ने निजी तथा सरकारी तालिम केन्द्र सुविधासम्पन्न छैनन्। जसका कारण जापानले माग गरेअनुसार श्रमिक आपूर्ति गर्नु सरकारका लागि चुनौतीपूर्ण भइरहेको श्रम मन्त्रालयका उपसचिव भुसालले जानकारी दिए।

 

 

 

 

जापानमा ‘स्पेसिफाइड स्किल्ड वर्कर’ ‘एसएसडब्लू’ अन्तर्गत पहिलो वर्ग र दोस्रो वर्गका श्रमिक लिने सहमति नेपाल र जापानबीच भएको छ। तर नेपालले दक्ष तथा अर्धदक्ष कामदार उत्पादन गर्न सकेको छैन।