नागरिकताको विषयमा राजनीति किमार्थ स्वीकार्य छैन: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको समस्या समाधान गर्न आफू प्रधानमन्त्री भएका बेला अध्यादेश ल्याएको बताएका छन्। प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै संसद नभएको बेलामा अध्यादेश ल्याउँदा मुद्दा हालेर रोक्न लगाएको आरोप लगाएका हुन्।

 

उनले भने, ‘संसद् नभएको बेलामा नागरिकको समस्या समाधान गर्न अध्यादेश ल्याएका थियौँ। संवैधानिक व्यवस्थाअनुसार गरेका थियौँ। तर मुद्दा हालेर रोक्न लगाइयो। जन्मसिद्ध नागरिकलाई नागरिकता दिइन्छ भनेर ल्याएको भए अहिले पनि दुई दिनमा पास गर्न सक्थ्यौँ।

 

सरकारले नागरिकतालाई राजनीति विषय बनाउन खोजेको आरोप लगाए। ‘अहिले एमालेले नागरिकता रोक्यो भनेर सरकार पक्षले भ्रम फैलाउन खोज्यो। नागरिकताको विषयमा राजनीति किमार्थ राम्रो हुँदैन’ उनले भने।

 

राज्यको सबै अंगहरू आफ्नो लिगबाट पर हटेर स्वतन्त्र ढंगबाट काम गर्न छाडेका टिप्पणी गरे। जनताले मंसिर ४ गतेपछि सरकार र गठबन्धनलाई जवाफ दिने बताए।

 

एमालेका विरुद्ध संसद र संसदीय मर्यादाको वास्ता नगरेर चल्ने काम भएको बताए। आफू नेतृत्वको सरकारले विकासको लहर ल्याएको दाबी गरे। सरकारले राम्रो काम गरेपछि विभिन्न षड्यन्त्र गरेको आरोप लगाए।