आज दिउँसो यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राती देशका पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १को थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तो छ आगामी २४ घण्टामा महाशाखाले जारी गरेको चेतावनी तथा परामर्श

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले यसबाट पहाडी तथा भिरालो जमिनमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।

 

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।