नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १८५५.१६ अंकमा बन्द भएको छ।

दशैं बिदापछि आइतबार खुलेको नेप्से ४४ अंकले वृद्धि भएर बन्द भएको थियो । सोमबार २७ अंकले गिरावट भएको नेप्से मंगलबार पनि घटेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.२१ अंकले गिरावट भएर ३६३.६३ अंकमा बन्द भएको छ।

मंगलबार व्यापार, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम पनि घटेर ५५ करोडमा सीमित भएको छ।

आइतबार ८४ करोडको कारोबार भएको बजारमा सोमबार बढेर ९७ करोड पुगेको थियो । तर, मंगलबार १७ लाख ६८ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा ५५ करोड २८ लाख १० हजारको मात्रै कारोबार भएको छ।

जसमध्ये नबिल बैंकको सर्वाधिक ३ करोड १० लाख ९ हजारको कारोबार हुँदा नेपाल लाइफको २ करोड ४३ लाख ६८ हजार र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य २ करोड १९ लाखको कारोबार भएको छ।

मंगलबार बजारमा कुल १८४ कम्पनीको सेयर कारोबार भएकोमा १४२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ३३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

मंगलबार कारोबार भएकामध्ये समिट लघुवित्त र अभियान लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ।

यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ८.५२ प्रतिशत र रुरु जलविद्युत् कम्पनीको सेयरमूल्य ७.८४ प्रतिशतले वृद्धि भएको छ।

यता बिन्दवासिनी लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.१८ प्रतिशतले गिरावट हुँदा सिंगटी हाइड्रोपावरको सेयर मूल्य ४.२६ प्रतिशत र नेरुडे लघुवित्तको सेयरमूल्य ३.८३ प्रतिशतले गिरावट भएको छ।