ए डिभिजन लिग खेल्ने हरेक क्लबले ३२ लाख बढी खर्च पाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुसमा सुरु हुने शहीद स्मारक ए डिभिजन लिग खेल्ने क्लबलाई दिने तयारी खर्च बढाएको छ ।

एन्फाले सोमबार ए डिभिजन लिगका क्लबसँगको छलफलका क्रममा तयारी खर्च १० लाख रुपैयाँ बढाउने बताएको हो।

अब लिगका तयारीका लागि ए डिभिजन क्लबले ३२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने एन्फा प्रवक्ता सुरेश साहले बताए।

गत वर्ष सहभागी हरेकले २२ लाख ५० हजार रुपैयाँ तयारी खर्च पाएका थिए। ए डिभिजन लिग पुस २६ गतेदेखि सुरु गर्ने र डबल लिगका आधारमा गर्ने एन्फाले यसअघि नै निर्णय गरिसकेको छ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकमा एन्फा पदाधिकारी तथा क्लबका प्रतिनिधिहरुको उपस्थिति थियो ।

लिगको विजेताले ७५ लाख रुपैयाँ, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।