आचारसंहिता र निर्देशनको अवज्ञा नगर्न आयोगको चेतावनी

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरुका संघसंस्था र युवा प्रतिनिधिसँग बुधबार आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन उनले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको उल्लघङ्न र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महँगो पर्नसक्ने चेतावनी दिएका हुन् ।

उनले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारवाही हुने स्पष्ट गरे ।

युवालाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै उनले आचारसंहिताको उल्लघङ्न पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराए ।

उनले निर्वाचनमा जित्नेभन्दा पराजित हुने उम्मेदवारको संख्या धेरै हुने भएकाले निर्वाचनपछिको राजनीतिक वातावरण धुमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाले सकारात्मक भूमिका खेल्न सक्ने उल्लेख गरे ।

प्रमुख आयुक्त थपलियाले मतदान केन्द्र सकेसम्म अपांगता मैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट गरे ।

उनले भने, “मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस्, स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ ।

यसैबीच, निर्वाचन आयोगका आयुक्त डा। जानकीकुमारी तुलाधारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताएकी छन् ।

नेपाल कानुन समाजको आयोजनामा बुधबार दमौलीमा आयोजना निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक अन्तक्र्रियामा बोल्दै आयुक्त तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गरिन् ।

सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग कटिबद्ध भएर लागेको आयुक्त तुलाधारको भनाइ थियो । तुलाधारले आचारसंहिता पालनाले मात्र विश्वसनीय निर्वाचन सम्पन्न हुने भएकाले आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरिन् ।