डडेल्धुरामा ७ हजार बढी मत बदर

काठमाडौं । डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा डडेल्धुरामा ७ हजार मत बदर भएका छ ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार जिल्लामा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ ३ हजार १ सय ८७ अथवा ६ दशमलब २२ र प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ ७ हजार ५१ अथवा १० दशमलब ५८ प्रतिशत मत बदर भएको पाइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ ५१ हजार २ सय ३ मत खसेको थियो । प्रदेश सभा सदश्य निर्वाचनमा प्रदेश (क) मा २५ हजार ३ सय ६१ र (ख)मा २५ हजार ९ सय ३ मत खसेको थियो ।

एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा रहेको डडेल्धुरामा प्रतिनिधि तथा प्रदेश सभातर्फ कुल १० हजार २ सय ३८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा बदर मतको संख्या बढेको उम्मेदवारहरूको गुनासो छ । उम्मेदवार र राजनीतिक दलहरूले गरेको चुनावी गठबन्धन तथा तालमेल मुख्य रूपमा दोषी रहेको मतदाताको भनाइ रहेको छ ।

एउटै मतदाताले ४ पटक गर्ने मतदानमा प्रतिनिधि सभातर्फ ३ हजार १ सय ८७ र प्रदेश सभातर्फ दुवै निर्वाचन क्षेत्रमा ७ हजार ५१ मत बदर हुनुमा निर्वाचन मतदाता शिक्षा प्रभाबकारी नहुँनु र राजनीतिक दलहरुले पनि मत माग्ने र मतदान गर्ने तरिकामा अपनाइएको शैलीले उल्लेख्य संख्यामा मत बदर भएकोप्रति सम्बन्धित निकाय सचेत हुनै पर्दछ ।