निर्वाचन आयोगलाई एमालेको १० बुँदे ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले गत मंसिर ४ गते सम्पन्न निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराएको छ।

विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा मतदानका क्रममा अनियमितता र बुथ कब्जा भएको भन्दै एमालेले ती क्षेत्रमा पुनः मतदान गराउन आयोगको ध्यानाकर्षण गराएको छ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुलाई भेटी सुनसरी–४ को मतगणना तत्काल अघि बढाउन पनि आग्रह गरेको छ।

एमालेले पत्रमा मतगणनामा निर्वाचन क्षेत्र अनुसार मत बदर र सदर सम्बन्धमा फरक–फरक मापदण्ड अपनाउने, निर्वाचित भएको व्यक्तिलाई कसैलाई प्रमाणपत्र तत्काल दिने र कसैलाई नदिई राख्ने कार्य पूर्णतः कानून प्रतिकुल रहेको पनि उल्लेख गरेको छ।

पार्टीका उम्मेदवार बसन्त नेम्वाङलाई पाँचथरमा निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा लागेको आशंका सिर्जना भएको एमालेको दाबी छ।

यस्तै, प्रत्यक्षतर्फ र समानुपातिकमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्राप्त समानुपातिकतर्फको मतहरु उपलब्ध गराई कूल योगफल मिले–नमिलेको हेर्न सकिने गरी पारदर्शिता अपनाउने व्यवस्था मिलाउन पनि एमालेले आयोगलाई आग्रह गरेको छ।