बालेन्द्रले दिए ओलीलाई कडा चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाईकसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन्।

थापाथलीका सुकुम्बासी बस्तीमा भएको डोजर प्रकरणमा ओलीले मंगलबार दिएको अभिव्यक्तिको जवाफ दिँदै मेयर साहले परिस्थिति फेरिएको भन्दै सकेको सहयोग गर्न र नसके अरुलाई नभड्काउन चेतावनी दिएका हुन् ।

मेयर साहले अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा महानगरले आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन् । ओलीबाट आएको धारणा सामान्य विषय भएको उनको भनाइ छ । ओलीले मन्त्री र प्रधानमन्त्री हुँदा सुकुम्वासी समस्यालाई सम्बोधन गर्न नसकेको आरोप साहले लगाएका छन् ।

साह अगाडि लेख्छन्–‘२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक–पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो, तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैङ्क मात्रै रहे,’

सुकुम्वासीलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गरेको पनि उनको आरोप छ ।