प्रत्यक्ष निर्वाचित हुनेमा २७ वर्षदेखि ८३ बर्षसम्मका, कुन पार्टीमा कति-कति बर्षका उम्मेदवार निर्वाचित ?

काठमाडौं। राजनीतिमा पुस्तान्तरणको सशक्त आवाज उठे पनि प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहको नगण्य मात्र प्रतिनिधित्व भएको छ।

१६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० वर्ष कम उमेर समूहका निर्वाचित सदस्यहरू ८ जना मात्र रहेका छन्। ३० भन्दाकम उमेर समूहका २ जना छन्। चुनाव जित्नेमा सर्वाधिक ५० देखि ६० वर्षका ५९ जना छन्।

अहिलेसम्म प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम कम उमेरकी निर्वाचित सदस्य हुनुहुन्छ। ५० तल उमेर समूहका ३८ जनाको प्रतिनिधित्व प्रत्यक्षतर्फबाट हुने देखिएको छ।

बुधबार साँझसम्म सार्वजनिक १६१ क्षेत्रको मतपरिणाम अनुसार ३० वर्षभन्दा कम उमेर समूहका २, ३० देखि ४० उमेर समूहका ६ र ४० देखि ५० वर्ष समूहका ३० जना निर्वाचित भएका छन्।

यस्तै, ५० देखि ६० उमेर समूहका ५९ जना निर्वाचित हुँदा ६० देखि ७० उमेर समूहबाट ४७ जना निर्वाचित भएका छन्। ७० माथिका १२ र ८० वर्षमाथिका दुई निर्वाचित सदस्य छन्।

नेकपा (एमाले)मा ४० वर्ष कम उमेरका निर्वाचित हुनेको संख्या शून्य छ। यस्तै, ४० देखि ५० वर्ष उमेर समूहका ८ जना निर्वाचित भएका छन्। ५० वर्षदेखि ६० वर्ष समूहका २० जना छन्। यस्तै, ६० देखि ७० वर्ष समूहका १२ जना छन्। ७० वर्षभन्दा माथि उमेर समूहका अध्यक्ष केपी शर्मा ओली र मङ्गलप्रसाद गुप्ता रहेका छन्।  

नेपाली कांग्रेसमा ३० भन्दा मुनि निर्वाचित हुनेमा मुस्ताङबाट योगेश गौचन थकाली रहेका छन्। यस्तै, कांग्रेसमा ३० देखि ४० वर्ष उमेर समूहबाट कुनै सदस्य प्रत्यक्षमा निर्वाचित छैनन्।

यस्तै, ४० देखि ५० उमेर समूहका ७ जना निर्वाचित भएका छन्। ५० देखि ६० वर्ष उमेर समूहका १८ सदस्य छन्। ६० देखि ७० उमेर समूहका २३ जना कांग्रेसबाट निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवासहित ४ जना ७० वर्षमाथि उमेर समूहका रहेका छन्। 

नेकपा माओवादी केन्द्रमा पनि ३० वर्षभन्दा कम उमेर समूहका सदस्य निर्वाचित भएका छैनन्। यस्तै, ४० देखि ५० उमेर समूहका ४ जना निर्वाचित छन्। ५० देखि ६० उमेर समूहका १० जना निर्वाचित भएका छन्। ६० देखि ७० उमेर समूहमा अध्यक्ष पुष्पकमल दाहाल मात्र रहेका छन्। ७० माथिको समूहबाट महिन्द्रराय यादव निर्वाचित भएका छन्।

नेकपा (एकीकृत समाजवादी)मा ४० देखि ५० वर्ष उमेर समूहका २ जना निर्वाचित भएका छन्। यस्तै, ५० देखि ६० उमेर समूहका ३ जनालाई जनमतले पत्याएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३० वर्ष कम उमेर समूहबाट १ जना निर्वाचित हुनुभएको छ। काठमाडौं २ मा सोविता गौतम उक्त दलबाट निर्वाचित हुनुभएको हो।

यस्तै, उक्त दलबाट ३० देखि ४० उमेर समूहबाट डा. तोसिमा कार्की र हरि ढकाल निर्वाचित हुनुभएको छ । ४० देखि ५० उमेरबाट ४ जना निर्वाचित हुनुभएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३० वर्षीय ज्ञानबहादुर शाही जुम्लाबाट निर्वाचित भए। यस्तै, ५७ वर्षीय पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट निर्वाचित हुनुभएको छ। राप्रपाबाट ६० देखि ७० वर्ष उमेर समूहका ३ जना निर्वाचित हुनुभएको छ। ७० वर्षमाथिका २ जना निर्वाचित हुनुभएको छ।

जनता समाजवादी पार्टीबाट ४० देखि ५० वर्ष उमेर समूहमा २ जना निर्वाचित हुनुभएको छ। यस्तै, ५० देखि ६० उमेर समूहका ३ जना निर्वाचित हुनुभएको छ। ७० माथि उमेरका १ जना निर्वाचित हुनुभएको छ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचितमध्ये ५० देखि ६० उमेर समूहमा १ जना, ६० देखि ७० उमेरमा १ जना र ७० भन्दा माथि २ जना निर्वाचित हुनुभएको छ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचितमध्ये २ जना ३० देखि ४० वर्ष उमेर बीचका हुनुहुन्छ। १ जना ४० देखि ५० वर्ष उमेर समूहभित्र निर्वाचित हुनुभएको छ।

जनमत पार्टीको प्रत्यक्षबाट निर्वाचित पार्टी अध्यक्ष चन्द्रकान्त (सीके) राउत ४५ वर्षको हुनुहुन्छ।

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित चित्रबहादुर केसी ८३ महन्थ ठाकुर ८१ वर्षको हुनुहुन्छ।

नेपाल मजदुर किसान पार्टीबाट प्रत्यक्षमा निर्वाचित एक मात्र सदस्य प्रेम सुवाल ६२ र स्वतन्त्रबाट निर्वाचित ५ जना पनि ५० वर्षमाथि उमेरको हुनुहुन्छ।

संसद सचिवालयमा रहेको व्यक्तिगत विवरण अनुसार अहिलेसम्म सर्वाधिक ज्येष्ठ जनप्रतिनिधिमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी रहनुभएको छ।