प्रहरीमा डीआईजीसहित २६ सय दरबन्दी थप्न प्रस्ताव, एआईजी बढुवामा सचिवको जोड

काठमाडौं। नेपाल प्रहरीमा एक प्रहरी नायव महानिरीक्षक (डीआइजी) सहित २ हजार ६ सय नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको छ। प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ ।

प्रधान कार्यालयले एकजना डीआईजी, २ जना वरिष्ठ उपरीक्षक (एसएसपी), ७ जना उपरीक्षक (एसपी) र २५ जना नायव उपरीक्षक (डीएसपी)को दरबन्दी थप्न प्रस्ताव गरेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नती भएसँगै पोखरा विमानस्थलमा प्रहरी वरिष्ठ उपरीक्षक राख्नुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान सम्पन्न भइसकेको छ ।

प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीआईजी राख्न प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ। प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले भने– ‘मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति लिएर दरबरन्दी थप्ने प्रस्ताव पठाएका छौँ तर, सो प्रस्ताव गृहमा अड्किएको छ।

एआईजी बढुवामा सचिवको जोड

दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाउनुपर्छ । अर्थ मन्त्रालयको सहमति लिएर मात्रै सो प्रस्ताव कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, गृह मन्त्रालयले दरबन्दी थप्ने प्रस्ताव रोकेर ४ जना एआईजी बढुवा गर्ने तयारी गरेको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवामा गृहसचिव विनोद प्रकाश सिंहले तीब्र लविङ गरिरहेका छन्। मंसिर ११ मा आईजीपी धिरजप्रताप सिंहको सहमति बेगर सचिवले निर्वाचन आयोगसँग बढुवाका लागी सहमति मागेका थिए। गृह मन्त्रालयको पत्रको आधारमा निर्वाचन आयोगले आवश्यक बढुवा र सरुवाका लागि मन्त्रालयलाई अनुमति दिएको छ।

गृह मन्त्रालयमा भएको एउटा छलफलमा सचिव विनोद सिंहले भनेका छन्–‘पुरानाबाट ३ जना र नयाँबाट एकजनालाई एआइजीमा बढुवा गर्नुपर्छ । सचिवले पुराना भनेका डीआईजीहरू मसाउद अलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य हुन् । उनीहरू अहिलेका आईजीपी धिरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट हुन् ।

नयाँ टिमबाट सिंहले आफ्ना नाताका अशोक सिंहलाई बढुवा गर्न लविङ गरिरहेका छन् । सिंह २०७९ असारमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई र दीपक थापासँगै प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए।

अशोक सिंहसँगै बढुवा भएका मध्ये वसन्त कुँवर एक नम्बरमा छन् । तर, बरियता मिचेर सिंहलाई अगाडि ल्याउन खोजिएको छ ।रातोपाटीबाट,