बाजुरामा माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्मासहित: सुदूरपश्चिम प्रदेश सभामा १ सय ११ जनाको जमानत जफत

काठमाडौं। प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा सुदूरपश्चिम प्रदेश सभातर्फ १ सय ११ जना उम्मेदवारको जमानत जफत भएको छ।

कुल सदर मतको दश प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था अनुरुप उनीहरुको जमानत जफत भएको हो।

सुदूरपश्चिम प्रदेश सभा सदस्यतर्फ ३२ सिटका लागि भएको चुनावमा ८२ जना उम्मेदवार जमानत जफत हुनबाट जोगिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक बाम–गठबन्धन, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीका साथै स्वतन्त्र उम्मेदवारले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले एमाले, नेकपा (माओवादी केन्द्र) लगायत प्रमुख राजनीतिक दलका उम्मेदवारकोसमेत जमानत जफत भएको जानकारी दिएको छ।

यहाँ प्रदेश सभा प्रत्यक्षतर्फ डडेल्धुरा प्रदेश सभा २ मा एमालेका गजेन्द्रबहादुर शाहीको जमानत जफत भएको छ। कुल २४ हजार पाँच सय २८ मत सदर मतमध्ये शाहीले एक हजार ३५ मत मात्रै प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।

जमानत जफत हुने धेरै उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायतका उम्मेदवार छन्। 

बाजुरा प्रदेश सभा १ मा माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्माको पनि जमानत जफत भएको छ।