‘आमजनता पार्टी’ दर्ता गर्दै प्रभु साह, चुनाव चिन्ह मोबाइल राख्ने

काठमाडौं। रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रभु साहले नयाँ पार्टीको नाम टुंगो लगाएका छन् । लामो आन्तरिक गृहकार्य र छलफलपछि साहले ‘आमजनता पार्टी’ नाम जुराएका छन्।

त्यसका लागि आगामी ६ पुसमा सातैवटा प्रदेशका प्रतिनिधित्व हुने गरी तदर्थ समिति गर्न काठमाडौंमा बृहत् भेला गरिने भएको छ।

भेला व्यवस्थापनको जिम्मा इच्छाबहादुर वाग्ले, पार्टीको विधान तयार पार्ने जिम्मा प्रभु साह र देशभरिका स्वतन्त्र सांसदमा उम्मेदवारी दिएर जसले पाँच हजार मत ल्याएका छन्, उनीहरूलाई भेला पार्ने जिम्मा बद्रीप्रसाद न्यौपानेलाई दिइएको छ।

न्यौपाने चुनावका बेला एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएर प्रभु साहको अभियानमा लागेका थिए । वाग्ले बाराबाट कांग्रेसका बागी उम्मेदवार बनेका थिए ।

साहले आफूहरूसँग प्रतिनिधिसभामा तीन र प्रदेशसभामा ६ गरी नौजना सांसद रहेको दाबी गरेका छन् । जसमा रौतहट ३ बाट विजयी प्रभु साह, रौतहट २ मा विजयी किरण साह र मोरङ ५ मा विजयी योगेन्द्र मण्डल रहेका छन्।

गत २४ मंसिरमा काठमाडौंको गौशालास्थित शिवम् पार्टी प्यालेसमा सबैलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांसद मण्डलले आफ्ना प्रतिनिधि पठाएका थिए । किरण साह भने आउँछु भनेर अन्तिममा उपस्थित भएनन् ।

सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी अमरेशकुमार सिंह दिल्लीमा भएकाले उपस्थित हुन सकेका थिएनन् । नयाँ पार्टी गठनमा सिंहले समेत सहमति जनाएका छन् ।

कार्यक्रममा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभामा विजयी सुरुल पुन (रुकुम), दीपेन्द्रबहादुर पुन (रोल्पा), दीपेन्द्रबहादुर शाही (जुम्ला), खड्ग बस्नेत (नवलपरासी), केशव राय चौधरी (रौतहट) र जवाहरलाल कुशवाह (सर्लाही) लाई सम्मान गरिएको थियो । – ​न्युज कारखाना