काठमाडौं-सुर्खेत नियमित उडान सुरु

काठमाडौं। कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलमा एटिआर-७२ जहाजमार्फत शुक्रबारदेखि नियमित उडान सुरु भएको छ।

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत् काठमाडौं –सुर्खेत–काठमाडौं रुटमा नियमित उडान प्रारम्भ गरेको हो।

उक्त गन्तव्यमा बिहीबारदेखि एटिआर जहाजमार्फत् नियमित उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो।

सुर्खेत विमानस्थलमा गत कात्तिक ३० मा एटिआर जहाजमार्फत् परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको थियो। परीक्षण उडान सफल भएपछि नियमित उडान सञ्चालन गरिएको हो।

प्राधिकरणका उच्च अधिकारीसहित ७० यात्रु लिएर बुध्द एयरको एटिआर जहाजले सुर्खेतमा पहिलो व्यावसायिक उडान भरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताउनुभयो।

हाल काठमाडौं–सुर्खेतको हवाई भाडा १४ हजार रुपैयाँसम्म तोकिएको छ।