कानुन बनाउने ठाउँमा ‘कानुन तोड्ने’हरुको शपथ

काठमाडौं । संघीय संसद सचिवालयले फौजदारी अभियोग लागेका दुई सांसदलाई शपथ ग्रहण गराएको छ । बिहीबार शपथ ग्रहण गरेका २७० सांसदमध्ये दुईजना सांसद फौजदारी अभियोग लागेका व्यक्ति हुन् ।

मनाङ–१ बाट निर्वाचित नेपाली कांग्रेस टेकबहादुर गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन छ । महोत्तरी–१ बाट निर्वाचित नेकपा एमाले उम्मेदवार लक्ष्मी महतो कोइरीमाथि मधेश आन्दोलनका क्रममा प्रहरी सहायक निरीक्षक थमन विक हत्याको आरोप छ । उनी प्रहरी प्रशासनको नजरमा ‘फरार अभियुक्त’ हुन् ।

सचिवालयका उच्च अधिकारीहरुले अडान लिन नसक्दा शपथ लिनै नपाउने दुई सांसदलाई जबर्जस्ती शपथ गराइएको देखिन्छ । ‘भ्रष्टाचारको आरोप लागेको कर्मचारीले बढुवा र वृत्तिविकासका लागि आवेदन भर्न समेत पाउदैन भने सांसदले कसरी शपथ लिन पाउछ रु’ संसद सचिवालय स्रोतले भन्यो, ‘अहिले थुनामा हुनुपर्ने फरार आरोपितलाई शपथ ग्रहण गराउनु संसद सचिवालयका उच्च अधिकारीहरुको लाचारी हो ।’

पूर्वसचिव सोमबहादुर थापा फौजदारी अभियोग लागेका पात्रहरुलाई सांसद बनाउनु गलत हुने टिप्पणी गर्छन । ‘यो एकदमै गलत हो, यस्तो स्पष्ट विषयलाई पनि रोक्न नसक्नु हाम्रो कमजोरी हो’ उनी भन्छन्, ‘यसले राजनीतिमा र जनप्रतिनिधिमूलक थलो संसदमै विकृति फैलाउँछ । आफूमाथिको आरोपबाट उन्मुक्ति मिल्ने भएपछि अपराधका आरोपितहरु राजनीतिमा लाग्न प्रोत्साहन नै हुने भयो ।