सरकार ढाल्न बाह्य हस्तक्षेप सुरु भयो प्रतिरोध गर्छौं: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई असफल बनाउने प्रयत्न हुँदै गरे पनि यसलाई सफल पार्ने बताएका छन्।

एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले केही बाहिरी तत्त्वले अहिलेको सरकार ढाल्न खोजिरहेको उल्लेख गर्दै त्यो पूरा नहुने बताए।

एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने बताएका हुन्।

यो सरकारलाई सफल बनाउन चाहन्छौँ, अध्यक्ष ओलीले भने,सरकारलाई हामीले उपयुक्त ढङ्गले मार्ग निर्देश गर्छौँ। सरकारले सही नीति लेओस्, भ्रष्टाचार नगरोस् र सुशासन तथा विकास गरेर सक्रियताका साथ अघि बढोस् ।उहाँले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसमेत पाउने बताए।

अध्यक्ष ओलीले संसद् अधिवेशन सुरु हुने दिन तथा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने दिन संसद् भवनमा समयमा नै प्रवेश गर्न सांसदहरूलाई निर्देशनसमेत दिए । उनले अहिलेको सरकारले छिमेकी देशसँग सुमधुर र पारस्परिक सम्बन्ध राखेर अगाडि बढ्ने बताए।

हामी विदेशी हस्तक्षेप रुचाउँदैनौँ, अध्यक्ष ओलीले भने । उनले सांसदहरूलाई गर्नुपर्ने काम प्राथमिकतामा राखेर गर्नुपर्ने निर्देशन दिए। उनले संसद्को अभ्यासमा भाग लिन नभ्याउने तथा बाहिर बाहिर जानेजस्ता काम नगर्नसमेत सचेत गराए। अध्यक्ष ओलीले जनताले अनुमोदन गरेर संसद्मा पठाएकाले सांसदहरूलाई जनताका पिर मर्काबारे संसद्मा आवाज उठाउन आग्रह गरे।

कार्यक्रममा एमाले संसदीय मामिला प्रमुख डा। शिवमाया तुम्बाहाम्फेले नवनिर्वाचित सांसदले दलको निर्देशनलाई मानेर अगाडि बढ्नुपर्ने बताइन। उनले संसद्मा खेल्नुपर्ने भूमिकालाई उल्लेखनीयरुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिइन्।

विभागका सदस्य खिमलाल भट्टराईले संसद्मा एमालेको भूमिकालाई सांसदहरूले प्रभावकारी बनाउनका लागि अभिमुखीकरण गरिएको बताए। उनका अनुसार दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा नेपालको संसदीय अभ्यास र संसदीय प्रणालीका बारेमा जानकारी गराइनेछ।

कार्यक्रममा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान, संसदीय प्रक्रिया र सांसदको प्रभावकारी भूमिका तथा संसद् सचिवालयका सचिव सुदर्शन खड्काले सङ्घीय संसद् सचिवालय र सांसदको अन्तरसम्बन्ध, पूर्व मन्त्री माधव पौडेलले कानुन तर्जुमा प्रक्रियामा सांसदको भूमिका, प्रशासनविद् काशीराज दाहालले संसदीय समितिको प्रभावकारिता र सांसदको भूमिका तथा पूर्व सचिव शिशिर ढुङ्गानाले भौतिक तथा मानवीय विकासमा सांसदको भूमिकाका बारेमा प्रशिक्षण दिनेछन्। अभिमुखीकरण आइतबारसम्म चल्नेछ ।