छरिएर रहेका क्रान्तिकारीहरूलाई एकतामा आउन क्रान्तिकारी माओवादी सहितका तीन पार्टीको आह्वान

काठमाडौं । नेपालका तीनवटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले ‘पार्टी एकता संयोजन समिति’ बनाएका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा(मशाल)ले पार्टी एकताको लागि संयोजन समिति बनाएका हुन्।

यसअघि पार्टी एकताकै लागि क्रान्तिकारी माओवादी र बहुमतले पार्टी एकता संयोजन समिति बनाएका थिए । तीनवटै पार्टीबीच एकता वार्ता चलिरहेको र तीनवटै पार्टी पार्टी एकताका निम्ति सहमत भएपछि तीनवटै पार्टीबीच ‘पार्टी एकता संयोजन समिति’ बनाइएको सम्बद्ध स्रोतले जनाएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला कञ्चन र नेकपा (मशाल)का महाचिव सन्तबहादुर नेपालीको संयुक्त हस्ताक्षरमा जारी संयुक्त वक्तव्यमा तीन पार्टीका बीच ‘पार्टी एकता संयोजन समिति’ बनाइएको उल्लेख गरिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकताको अपरिहार्य ऐतिहासिक आवश्यकतालाई महसुस गर्दै सिद्धान्त र राजनीतिका आधारभूत विषयमा समानता देखिए पनि कैयौँ विषयहरूमा बृहत् छलफल गरेर टुङ्ग्याउनुपर्ने भएकाले अन्तिम निष्कर्षमा पुग्नका लागि अहिले हामीले ‘पार्टी एकता संयोजन समिति’ बनाएर छलफल अघि बढाउने निर्णय गरेका छौँ ।’ जारी वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा क्रन्तिकारी पार्टी निर्माणमा सहमत हुनसक्ने एकल वा समूहगत रूपमा छरिएर रहेका क्रान्तिकारीहरूलाई एकताप्रक्रियामा आउनका लागि आह्वान समेत गरिएको छ ।

यस्तो छ वक्तव्यको पूर्णपाठ

‘विगत केही समयदेखि हामी तीन पार्टीहरू– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का बीचमा औपचारिक–अनौपचारिक रूपमा पार्टी एकताका विषयमा छलफल गर्दै आएका थियौँ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकताको अपरिहार्य ऐतिहासिक आवश्यकतालाई महसुस गर्दै सिद्धान्त र राजनीतिका आधारभूत विषयमा समानता देखिए पनि कैयौँ विषयहरूमा बृहत् छलफल गरेर टुङ्ग्याउनुपर्ने भएकाले अन्तिम निष्कर्षमा पुग्नका लागि अहिले हामीले ‘पार्टी एकता संयोजन समिति’ बनाएर छलफल अघि बढाउने निर्णय गरेका छौँ ।

यसै सन्दर्भमा क्रन्तिकारी पार्टी निर्माणमा सहमत हुनसक्ने एकल वा समूहगत रूपमा छरिएर रहेका क्रान्तिकारीहरूलाई एकताप्रक्रियामा आउनका लागि आह्वान गर्दछौँ।