प्रधानाध्यपकको कुटाइबाट शिक्षक गम्भीर घाइते

काठमाडौं । कपिलवस्तुमा प्रधानाध्यपकको कुटाइबाट एक शिक्षक घाइते भएका छन् ।यशोधरा गाँउपालिका वडा नं ६ रगंपुरमा रहेको बासुदेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापकको बृहस्पती पाण्डेको कुटाइबाट शिक्षक अखलेश गुप्ता घाइते भएका हुन् ।

तलब लेनदेनको क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ। उक्त घटना पुस २४ गते आइतबार भएको हो । शिक्षक गुप्ताको आँखामा गम्भीर चोट लगेको थियो। प्रधानाध्यपकको कुटाइबाट घाइते भएका गुप्ता विद्यालय नजिकै रहेको प्रहरी चौकी रगंपुरमा गएका थिए ।

प्रधानाध्यापक बृहस्पती पाण्डेको कुटाइबाट घाइते भएका शिक्षकको आफन्तहरुले प्रहरी चौकी रगंपुर घेराउ गरेका थिए ।

प्रहरी चौकी रंगपुरले कुटपिट गर्ने प्रधानाध्यपकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाएको प्रहरी चौकी रगंपुर इन्चार्ज तोक बहादुर बस्नेतले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय तौलिहवाले पक्राउ परेका प्रधानाध्यपक पाण्डेलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अघि बढाएको जिल्ला प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले बताउनुभयो ।

घटनाको छानविन तथा अनुसान्धान जारी राखेको नायब उपरीक्षक घलेले जानकारी दिनुभयो । घाइते शिक्षकको उपचार भैहरको छ ।

यस्तै पुस २० गते कपिलवस्तुकोे कृष्णनगर नगरपालिका ७ स्थित माध्यमिक विद्यालय अजिगराका प्रधानाध्यपक राधेकृष्ण शार्मामाथि कुटपिट गर्ने अन्नपुर्ण मिश्रा अझै सम्म फरार छन् ।

उनी विद्यालयका पुर्व प्रधनाध्यपक परिपूर्णानन्द मिश्रको कान्छो भाइ अन्नपुर्ण मिश्राले प्रधानाध्यपक शर्मामाथि कुटपिट गरी फरार भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

कृष्णनगर नगरपालिकाले राहत शिक्षक परिपूर्णानन्द मिश्रलाई प्रधानाध्यकको जिम्मेवारीबाट हटाएको थियो । नगरपालिकाले केही दिन पहिले माध्यमिक विद्यालय अजिगराको प्रधानाध्यपक पदको जिम्मेवारी राधेकृष्ण शर्मालाई दिएको थियो ।

माध्यमिक विद्यालय स्थायी शिक्षकको रुपमा कार्यरत शर्मालाई नगरपालिकाले प्रधानाध्यपकको रुपमा कामकाज गर्न निर्देशन दिएपछि अन्नपुर्ण मिश्राले कुटपिट गरेका थिए । नव नियुक्त प्रधनाध्यपक राधेकृष्ण शर्मा विद्यालय प्रवेशमा रोक लगाउने नियतले कुटपिट तथा हातपात गरेको स्थानीय कमलेश गुप्ताले जानकारी दिनुभयो ।