कृषि क्याम्पसका लागि जग्गा उपलब्ध गराउन गृहलाई पत्राचार

काठमाडौं। गोरखाको पालुङटारमा कृषि तथा वन विज्ञान क्याम्पस सञ्चालनका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढाइएको छ ।

नेपाल सरकारको नाममा रहेको पालुङटार नगरपालिका–७ को कित्ता नं ५२९,८६ र १२४२ को करिब २९७ रोपनीमध्ये १२० रोपनी जग्गा क्याम्पस सञ्चालनका लागि उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्राचार गरिने भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पालुङटार नगर कार्यपालिकाको सिफारिस अनुसार सो जग्गा क्याम्पस सञ्चालनका लागि उपलब्ध गराउन गृहमन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

पालुङटार नगरकार्यपालिकाले सो जग्गा विपद् व्यवस्थापन सम्बन्धि कुनैपनि कार्यमा प्रयोगमा नल्याउने, सामाजिक, आर्थिक, राजनीतिक, पर्यावरणीय र पुरातात्विक क्षेत्रमा समेत कुनै प्रतिकुल असर नपार्ने गरी कृषि क्याम्पस सञ्चालनका लागि उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिमा पत्राचार गरेको थियो।

सोही पत्रका आधारमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको आंगिक क्याम्पसको रुपमा क्याम्पस सञ्चालनका लागि जग्गा उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरिने भएको हो ।

क्याम्पस स्थापनाका लागि पहाडी क्षेत्रमा कम्तिमा १ सय रोपनी र तराईमा ८ विघासम्म जग्गा हुनुपर्ने भएकाले जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

पालुङटार नगरपालिकाले च्याङ्लीमा निर्माण भएको आवास गृहलाई क्याम्पसका लागि प्रयोग गर्ने बताउँदै आएको छ । त्यहाँ २०७२ सालको भूकम्पबाट प्रभावित सुकुम्बासी परिवारको आवास प्रयोजनका लागि ३ वटा सुविधासम्पन्न भवन निर्माण भएका छन् ।

तर निर्माण सम्पन्न भएको भवन नगरपालिकालाई हस्तान्तरण भइसकेको छैन । सोही भवन आसपास आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

जग्गा प्राप्तिका लागि नगरपालिकाले सहजीकरण गरेपनि जग्गा उपयोगको कार्ययोजना सहितको प्रक्रिया विश्वविद्यालयले नै अघि बढाउने छ । जग्गा विश्वविद्यालयकै नाममा पास हुने भण्डारीले जानकारी दिए ।

सबै प्रक्रिया पूरा भै क्याम्पस सञ्चालन भएमा पालुङटारमै कृषितर्फको स्नातक तहको पढाइ हुनेछ । बि।एससी। एजी।को ४ वर्षे कोर्सका लागि वार्षिक ५० जनाको कोटा हुने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले जनाएको छ ।

विश्वविद्यालयको केन्द्रिय क्याम्पस र कार्यालयबाट नजिक रहेकाले पालुङ्टारमा क्याम्पस सञ्चालन सहज हुने विश्वविद्यालय प्रशासनले जनाएको छ । तत्काल भने कृषितर्फको पढाई शुरु गर्ने र पछि पशु विज्ञान थप गर्ने गरि आन्तरिक छलफल भइरहेको पनि सो विश्वविद्यालयको भनाइ छ ।

यसबारे नगरपालिकाको एक टोलीले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्षलगायतसँग छलफल गरिसकेको छ । जग्गा, भवन, अन्य पूर्वाधार र दरवन्दी सुनिश्चितता भएपछि क्याम्पस स्थापना र सञ्चालन गर्न सकिने कृषि तथा वन विज्ञान विश्वविद्यालय प्रशासनले जनाएको छ ।