यति एयरलाइन्स विमान दुर्घटनास् १० जना विदेशी थिए यात्रु, यस्ता छन् अनुमानित कारणहरू

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको यति एयरलाइन्सको एटीआर ७२ विमान असन्तुलित भएर दुर्घटना भएको अनुमान गरिएको छ।

विमान उल्टोपाल्टो भएर हल्लिँदै आएको र खस्ने बेलमा विमान पुरै उल्टै भएको प्रत्यक्षदर्शी बताएका छन्।

विमान चरामा ठोक्किएर असन्तुलित भएको हो कि भन्ने आंशका गरिएको छ।

तर, यसै कारण दुर्घटना भएको हो भन्ने आधिकारिक रूपमा थाहा हुन सक्ने अवस्थामा छैन।

काठमाडौँबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्दा जम्मा २ किलोमिटरको दुरीमा जहाज दुर्घटना भएको हो।

विमान चालकले अनियन्त्रित जहाज बस्तीमा खस्ने भएपछि खोँचमा पुर्‍याएका हुन् कि भन्ने पनि अनुमान गरिँदै छ।

मौसमको गडबडीले गर्दा दुर्घटना भएको भन्ने प्रारम्भिक अनुमान गरिएपनी त्यस्तो स्थिति थिएन भन्ने पोखरावासीहरूले बताइरहेका छन्। तथापि हिउँदमा सेती खोँचमा भने सधैँ कुहिरो लाग्ने गर्छ।

यो उडानमा १० जना विदेशी यात्रु, चार जना चालक दलका सदस्य थिए भने अरू यात्रु नेपाली नै रहेका थिए।

जहाज अनुभवी चालक कमल केसीले उडाएका थिए।

स्मरण रहोस्, यो त्यही जहाज हो जसले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण (डेमो) उडान गरेको थियो।