बाबुरामलाइ राष्ट्रपतिमा प्रचण्ड अघि सार्दै,यसरी बन्दै छ डिजाइन

काठमाडौं। प्रतिनिधिसभाले सभामुख र उपसभामुख पाएसँगै मुलुक अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनतर्फ अघि बढेको छ । संसद्को नेतृत्व सभामुख र उपसभामुख दुवै पद सत्ता गठबन्धनले हात पारेको छ ।

सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भए भने उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट आज इन्दिरा रानामगर निर्वाचित भएकी हुन् । मुलुक अब राष्ट्रपतिको निर्वाचनमा प्रवेश गर्न लागेसँगै उम्मेदवार को बन्ने भन्नेबारे चर्चा सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने बताएका छन् । २६ पुषमा संसद्मा विश्वासको मत लिँदा प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि समर्थन गरेको थियो । सो समर्थनसँगै कांग्रेस नेतृत्व राष्ट्रपतिमा दाबी गर्ने तहमा पुगेको छ ।

कांग्रेस नेताहरुले राष्ट्रपतिमा आफूहरुले अघि सारेको उम्मेदवारले नै बाजी मार्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने भनेर अभिव्यक्ति दिएपछि सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झस्किएका छन् । उनले राष्ट्रपतिबारे सत्ता गठबन्धनमा सहमति भएर एमालेको भागमा परेको दाबी गरेका छन् ।

राष्ट्रपतिमा सहमति भए अब एमालेले अघि सार्ने उम्मेदवारमा सहमति हुनुपर्ने बताउन थालेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले भने शक्ति सन्तुलन मिलाउनको लागि पनि एमालेबाहेकको सर्वस्विकार्य व्यक्तित्वको खोजी गरिनुपर्ने भन्दै छलफल थालेका छन् ।

माओवादीनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले कांग्रेस र मधेशवादी दलले पनि स्विकार गर्नसक्ने भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई अघि सार्न खोजेका छन् । भट्टराई संसद्को सक्रिय राजनीतिबाट अहिले टाढा छन् । उनकै जोडबलमा प्रचण्ड गोरखा २ बाट उम्मेदवार बनेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भट्टराईको नाममा राष्ट्रपतिको निर्वाचनमा सहमति जनाउन सकिने सिग्नल दिएका छन्। उनीपनि एमालेको पोल्टामा राष्ट्रपति पद नजाओस भन्नेमा छन् । बरु, पूर्व माओवादी नेता बाबुरामलाई नै राष्ट्रपतिमा स्विकार गर्न सकिने देउवाको बुझाई छ।
निर्वाचनसम्मको कांग्रेस नेतृत्वको गठबन्धन कायमै रहेको भए कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको स्वभाविक उम्मेदवार हुने थिए । तर, अहिले निर्वाचनको गठबन्धन टुटिसकेको छ ।

कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको छ । अहिले साझा उम्मेदवारको रुपमा स्विकार गर्नसक्ने व्यक्तित्वको बारेमा छलफल भएको छ । अहिले लोसपाका अध्यक्ष महन्थ ठाकुरको पनि नाम राष्ट्रपतिको लागि चर्चामा छन् । ठाकुरको नाममा सहमति नजुटे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाममा पनि छलफल भएको स्रोतको दाबी छ।

यता रवि लामिछानेको स्वतन्त्र पार्टीले पनि बाबुराम नै आउने भए सोच्न सकिने बताउदै आएको माओवादी निकट उच्च स्रोत बताउछ।