आन्तरिक हवाई यात्रु ४० प्रतिशत घटे

काठमाडौं। पोखरामा हालै भएको यती एयरलाइन्सको दुर्घटना र प्रतिकूल मौसमका कारण आन्तरिक हवाई यात्रुको संख्या करिब ४० प्रतिशतले घटेको छ ।

यो बेला तराईका विभिन्न गन्तव्यमा लाग्ने हुस्सुले समयमा उडान नहुने समस्या सधैंको हो । यस्तै, जाडोमा सर्वसाधारणको गतिविधि पनि कम हुने गर्छ ।

यी दुवै कारण अघिल्ला वर्षहरुमा पनि यो बेला आन्तरिक हवाई यात्रुको संख्यामा कमी आउने गर्थ्यो । यी कारणसँगै यही माघ महिनामा पोखरामा भएको यतीको विमान दुर्घटनाले पनि हवाई यात्रु घटाउन ठूलो भूमिका खेलेको हो ।

पोखराजस्तो सुरक्षित स्थानमा अहिलेसम्मकै ठूलो हवाई दुर्घटना भएपछि आम सर्वसाधारणमा बस नै पो ठिक हो कि भन्ने भावना जागृत भएको छ । यही कारण विगतमा हवाई यात्रामा निस्कनेहरुको रोजाइ अहिले बस वा साना सवारीसाधन बनेका छन् ।

आन्तरिक हवाई यात्रुको पछिल्लो तथ्यांकले पनि यस्तै संकेत गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अधिकारी र वायुयान सञ्चालकहरुले प्रतिकूल मौसमका साथै हवाई दुर्घटनाको डरले यात्रु घटेको अनुमान गरेका छन् । विगतमा दैनिक औसत १३ हजार जनासम्म आन्तरिक हवाई यात्रुले काठमाडौं विमानस्थलबाट उडान तथा अवतरण गर्ने गरेकामा अहिले यो संख्या ८ हजार हाराहारीमा झरेको छ । यो साढे ३८ प्रतिशतको कमी हो ।