हवाई यातायात थप सुरक्षित बनाउन नयाँ प्रावधान लागु हुँदै

काठमाडौं ।नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यातायातलाई थप सुरक्षित र व्यवस्थित बनाउन नयाँ प्रावधान लागू गर्ने निर्णय गरेको छ ।

ेप्राधिकरणले विभिन्न ६ ओटा निर्णय गर्दै विमानस्थलहरूमा अवतरण उचाइ कायम गर्ने र पाइलटले १ दिनमा जहाज उडाउन पाउने अवधि घटाएको छ ।

यही माघ १ गते निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएसँगै हवाई यातायातको सुरक्षाबारे चासो बढेको छ ।

प्राधिकरणले उक्त दुर्घटनापछि सुरक्षालाई थप भरपर्दो बनाउन नयाँ निर्णय गरिएको जानकारी दिएको छ ।

प्राधिकरणले नेपालको उडान सुरक्षालाई नियमित रूपमा अद्यावधिक गर्दै आएको पनि बताएको छ ।

शुक्रवार निर्णयहरू सार्वजनिक गर्दै प्राधिकरणले सुगम रूटका विमानस्थलमा अवतरणका लागि निश्चित उचाइ अनिवार्य रूपमा कायम गर्नुपर्ने निर्णय गरेको छ ।

हेलिकोप्टरबाहेक अन्य वायुयानले भीएफआर (भिजुआल फ्लाइट रूट)अन्तर्गत सर्ट टेकअफ एन्ड ल्यान्डिङ (स्टल) विमानस्थलहरूमा जमीनको सतहबाट कम्तीमा ५०० फीटको उचाइ अनिवार्य कायम गर्नुपर्ने प्राधिकरणले निर्णय गरेको छ ।

यस्तै अन्य विमानस्थलमा यस्तो उचाइ हजार फीट अनिवार्य कायम हुनुपर्नेछ ।

प्राधिकरणका यो नियम लागू गर्दा पाइलटहरूले यो उचाइमा आएपछि र निर्धारित उचाइभन्दा अझ कममा ओर्लिएपछि धावनमार्ग परिवर्तन गर्न पाउने छैनन् ।