स्रोत नखुलेको १५ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । सशस्त्र प्रहरीले कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको गस्ती टोलीले नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकाको आनन्द बजार नजिकैको कार्गिल डाँडाबाट कैलालीको गोदावरी नगरपालिका–८ का अम्मर भुल, खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का वीरेन्द्र सार्कीलाई १५ लाख २८ हजार भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैयाँ र गरगहनासहित फेला पारेको थियो।

उनीहरुको साथबाट चार थान सिक्री, चार वटा औंठी, तीन वटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा बटन, एउटा झुम्का, एउटा टाउकोमा लगाउने गहना, एउटा जन्तर र चार वटा मोबाइल समेत बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण कञ्चनपुरले जनाएको छ।