राष्ट्रपतिको लागि कांग्रेस र माओवादीबीच पहिले नै समझदारी भइसक्यो: गगन थापा

फाइल तस्वीर

काठमाडौं । पुस १० अघिको पाँच दलीय गठबन्धनका दलहरुबीच राष्ट्रपति निर्वाचनान नेपाली कांग्रेसले अगाडि सार्ने उम्मेदवारको पक्षमा मतदान गर्ने समझदारी बनेको छ।

गत पुस १० गते भत्किएको गठबन्धनबीच राष्ट्रपति निर्वाचनमा एकजुट भएर जाने समझदारी बनेको हो।

कांग्रेस महामन्त्री गगन थापाले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र राष्ट्रिय जनमोर्चाले कांग्रेसले अघि सार्ने राष्ट्रपतिको उम्मेदवारलाई सघाउने समझदारी भइसकेको जानकारी दिए।

उनले फागुन २५ गतेका लागि निर्धारित राष्ट्रपति निर्वाचनका लागि पाँच दलहरुबीच भएको सहमतिलाई औपचारिकता दिन मात्रै बाँकी रहेको पनि बताए।

नेपाली कांग्रेसले राष्ट्रपतिमा उठाउने उम्मेदवारलाई ५ दलीय गठबन्धनले सबैका तर्फबाट मत हाल्ने गरी समझदारी बनिसकेको छ, खाली औपचारिकता दिन मात्रै बाँकी हो।

केही दिनमै औपचारिकता दिन्छौं।

राष्ट्रपति निर्वाचनका लागि पार्टीको पक्षमा वातावरण निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर संवादमा रहेका महामन्त्री थापाले कांग्रेस तत्कालीन पाँच दलीय गठबन्धनमा रहेका अन्य दलहरुसँग पनि सम्पर्कमै रहेको बताए।

उनले राष्ट्रपति निर्वाचन र उम्मेदवारका विषयमा पछिल्लो समय भइरहेको चर्चामा कुनै सत्यता नभएको समेत जिकिर गरे।

हल्ला, चर्चा जेजस्तो भइरहेको छ, त्यसले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच संवाद नभएको जस्तो देखिन्छ, नेकपा एमालेले राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गरेको भनिएको प्रस्तावबारे थापाले भने, तर, त्यो होइन।

कांग्रेस र एकीकृत समाजवादी निरन्तर संवादमा छौं। हामी राष्ट्रपतिको विषयमा प्रष्ट छौं।

राष्ट्रपति निर्वाचनका लागि पाँच दलीय गठबन्धनबीच बनेको समझदारी भत्काउन एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फरक–फरक ढंगको आश्वासन बाँड्न थालेको उनको भनाइ छ।