राष्ट्रपतिको निर्वाचन छाडेर किन अचानक कतार जाँदै छन् प्रधानमन्त्री प्रचण्ड ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको भ्रमणमा जाने भएका छन्। उनी यही फागुन २० गते विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन कतारको राजधानी दोहा जाने तयारीमा रहेका हुन्।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री फागुन २० गते दोहा जाने तयारीमा रहेको छ। उनले भने, ‘दोहामा हुने विकाससम्बन्धी एक सम्मेलनमा उहाँ जाने कुरा छ।

सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहने भएकाले प्रधानमन्त्रीज्यू पनि जाने तयारी छ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको दोहा पहिलो विदेश भ्रमण हुने छ। यसअघि प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतलाई बनाउन पहल हुँदै आएपनि मिति तय हुन सकेको थिएन।

राष्ट्रपति निर्वाचनलगायतका कारणले तत्काल प्रचण्डको भारत भ्रमण हुन नसकेको हो।

स्रोतका अनुसार राष्ट्रपति निर्वाचनका बीच पनि कतार भ्रमण भने जानैपर्ने बाध्यताका कारण प्रचण्ड त्यसतर्फ प्रस्थान गर्ने तयारीमा लागेका हुन्।

राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ भने त्यसका लागि यही १४ गते मनोनयन दर्ताको कार्यक्रम छ। उनी फागुन २२ गते स्वदेश फर्किने कार्यक्रम छ।