राष्ट्रपतिको निर्वाचनपछि पनि प्रधानमन्त्रीमा दाहालको निरन्तरता: उपसभापति धनराज गुरूङ

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचनपछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहालको निरन्तरता हुने बताउनुभएको छ ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्रीमा दाहालकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न नमिल्ने उहाँले बताउनुभयो ।

कांग्रेसका नेता डा. शेखर कोईरालाले राष्ट्रपतिको रुपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको बताउनुभयो।

उहाँले नेकपा एमालेले सरकार नछाडेको अवस्थामा आफूहरुले सरकारमा जाने सम्बन्धमा निर्णय नगरेको बताउनुभयो।

त्यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचनपछि जसपा सरकारमा जाने बताउनुभयो।

जसपाका अर्का नेता राजकिशोर यादवले रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवारको रुपमा उत्तम र सर्वश्रेष्ठ रहनुभएको बताउनुभयो।

उहाँले पौडेलले संविधान र पदको दुरुपयोग नगर्ने बताउनुभयो ।पौडेलले राष्ट्रपति पदको मर्यादा र गरिमालाई बढाउने नेता यादवको भनाइ छ।

नेता यादवले आफूहरुले उपराष्ट्रपतिको उम्मेदवार निश्कलंकित र सबैलाई स्वीकार्य हुनेगरी दिने पनि बताउनुभयो ।