केपी ओलीको एउटा पत्रले माधव नेपाल र झलनाथको मत बाझियो,पार्टी नै फुटको संघारमा

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) मा एमालेले राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न गरेको पत्रलाई लिएर नेताहरुबीच मत बाझिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाममा सम्बोधन गरेर राष्ट्रपतिको निर्वाचनमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका थिए ।

सोलगत्तै माधव नेपालले एमालेको प्रस्ताव सकारात्मक भएपनि अहिले सहयोग गर्न नसकिने जवाफ दिएका थिए । एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले पनि ओलीले माधव नेपालको नाममा लेखेको पत्र सार्वजनिक गर्दै धन्यवाद भनेका थिए। उक्त पत्रले औपचारिक रुपमा राजनीतिक सम्वादको ढोका खोलिदिएको उनको भनाई थियो ।

खतिवडाले फेशबुकमा स्टाटास लेख्दै भनेका छन्–‘नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्षलाई सम्बोधन गरेर एमालेका राष्ट्रपतिका उमेदवार सुबास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्र लेख्नु भएको छ। यसको लागि धन्यवाद ।

यसले औपचारिक रुपमा राजनीतिक सम्बादको ढोका खोलिदिएको छ। राष्ट्रपति निर्बाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक सम्बादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ।

सम्मानित नेता झलनाथ खनालले भने अहिले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा बनेको आठ दलीय गठबन्धनले देशलाई निकास दिन नसक्ने धारणा राखेका छन्।

बंगलादेशबाट काठमाडौं ओर्लनेबित्तिकै खनालले मुलुकलाई सही दिशामा अघि बढाउनको लागि वामपन्थीहरुबीच एकता हुनुपर्ने आवश्यकत्ता औंल्याएका छन्।

उनले एमालेले पठाएको पत्रको विषयमा पार्टीभित्र छलफल हुने बताएका छन् । एमालेको पत्रको विषयमा अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच नै मतान्तर देखिएको छ । राष्ट्रपतिमा खनालको पनि चाहना थियो । तर, त्यसको लागि नेपालले कुनै पहल नगरेको उनको गुनासो छ ।